ग्लोबल


अमेरिकाका उपराष्ट्रपतिको दाबी: इरानलाई भ्रम भयो, युद्धविराम सम्झौतामा लेबनन छैन

अमेरिकाका उपराष्ट्रपतिको दाबी: इरानलाई भ्रम भयो, युद्धविराम सम्झौतामा लेबनन छैन

अमेरिकाका उपराष्ट्रपति जेडी भान्स


नेपालखबर
चैत २६, २०८२ बिहिबार १४:३०, काठमाडौँ

अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबिचको युद्धविराम सम्झौतामा लेबनन समावेश नभएको दाबी गरेका छन्। 

रोयटर्सका अनुसार भान्सले बुडापेस्टमा पत्रकारहरूसँग भने, ‘इरान भ्रममा पर्‍यो। इरानीहरूले सोचेका थिए- युद्धविराममा लेबनन पनि समावेश छ, तर त्यस्तो थिएन।’

उनका अनुसार 'अमेरिकाको भनाइ के थियो भने युद्धविराम इरान र अमेरिकाका सहयोगीहरूमा केन्द्रित हुनेछ, जसमा इजरायल र खाडीका अरब मुलुक समावेश छन्।'

‘इजरायलले लेबननमा संयम देखाउन निश्चित रूपमा सहमति जनाएको छ, तर यस विषयमा विस्तृत बताएन’, भान्सले भनेका छन्, ‘मैले बुझेसम्म इजरायलले लेबननमा आफूलाई थोरै संयमित राख्ने कुरा गरेको छ, किनभने ऊ हाम्रो वार्ता सफल होस् भन्ने चाहन्छ।’

यसअघि बुधबार मध्यस्थताकर्ता पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले युद्धविराम लेबननमा पनि लागु हुने बताएका थिए।

तर इजरायलले विज्ञप्ति जारी गरी दुईहप्ते युद्धविराम लेबनानका लागि लागु नहुने बताएको थियो।

इरान र अमेरिकाबिच दुई साता युद्धविराम घोषणा गरिएको भोलिपल्टै बुधबार इजरायलले लेबननमा भीषण हवाई हमला गरेको हो। जसमा परी २५४ जनाको मृत्यु भएको छ भने १ हजार १६५ भन्दा बढी व्यक्ति घाइते भएका छन्। 

यसैबिच इरानले अमेरिकासँग भएको युद्धविराम सम्झौताका तीन सर्त उल्लंघन गरिएको आरोप लगाएको छ। 

इरानको संसद्‌का सभामुख मोहम्मद बागेर गालिबाफले विज्ञप्ति जारी गरी दशबुँदे प्रस्तावका तीन सर्त उल्लंघन गरिएको बताएका हुन्। 

यस्ता थिए इरानले अमेरिकालाई पठाएका दश प्रस्ताव 

१. आक्रमण पूर्ण रूपमा अन्त्य

-अमेरिका र इजरायललाई सबै सैन्य आक्रमण बन्द गरिनुपर्ने माग गरिएको छ।

२. सबै प्रतिबन्ध हटाउने

-सबै आर्थिक प्रतिबन्ध हटाइनुपर्ने माग गरिएको छ।

३. स्थिर सम्पत्ति फिर्ता गर्ने

-आफ्ना सबै फ्रिज फन्ड तथा सम्पत्ति फिर्ता गरिनुपर्ने 

४. युद्धको स्थायी अन्त्य

-युद्धविराम मात्र होइन, युद्धको पूर्ण अन्त्य गरिनुपर्ने माग

५. अमेरिकी सेना फिर्ता गर्ने

-इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाबाट अमेरिकी सेना फिर्ता गर्नुपर्ने 

६. क्षतिपूर्ति

-युद्धका क्रममा भएका क्षतिबापत आर्थिक मुआब्जा वा पुनर्निर्माणको व्यवस्था 

७. होर्मुज स्ट्रेटमा नियन्त्रण

-होर्मुज स्ट्रेटमा इरानको नियन्त्रण हुनुपर्ने 

८. सुरक्षित आवतजावत तर सर्तसहित

-होर्मुज स्ट्रेटबाट जहाजहरूलाई आवतजावतका लागि अनुमति दिइने तर इरानी सेनासँग समन्वय गरेर।

९. जहाजलाई शुल्क 

-इरानले होर्मुज स्ट्रेट भएर आवतजावत गर्ने प्रतिजहाज लगभग २० लाख डलर शुल्क लिने प्रस्ताव गरेको छ। जुन ओमानसँग सेयर गरिनेछ।

१०. क्षेत्रीय द्वन्द्वको पनि अन्त्य

-लेबननमा हेजबुल्लाहविरुद्ध आक्रमणसहित क्षेत्रीय आक्रमण पनि अन्त्य गरिनुपर्ने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad