ग्लोबल


इरानले भन्यो: दशबुँदे प्रस्तावका ३ सर्त उल्लंघन गरियो, अब युद्धविरामको अर्थ छैन

‘अमेरिकालाई विश्वास नगर्नुको कारण आफ्नो वाचा बारम्बार तोड्ने बानी’
इरानले भन्यो: दशबुँदे प्रस्तावका ३ सर्त उल्लंघन गरियो, अब युद्धविरामको अर्थ छैन

इरानका सभामुख मोहम्मद बागेर गालिबाफ


नेपालखबर
चैत २६, २०८२ बिहिबार ९:५३, काठमाडौँ

इरानले अमेरिकासँग भएको युद्धविराम सम्झौताका तीन सर्त उल्लंघन गरिएको आरोप लगाएको छ। यसमा उसले लेबननमा इजरायलले जारी राखेको आक्रमण पनि उल्लेख गरेको छ। 

इरानको संसद्‌का सभामुख मोहम्मद बागेर गालिबाफले विज्ञप्ति जारी गरी दशबुँदे प्रस्तावका तीन सर्त उल्लंघन गरिएको बताएका हुन्। 

विज्ञप्तिमा लेखिएको छ, ‘हामीले अमेरिकालाई विश्वास नगर्नुको कारण भनेको आफ्नो वाचा बारम्बार तोड्ने उसको लामो समयदेखिको बानी हो। यो दुर्भाग्यपूर्ण छ- उसले फेरि आफ्नो उही प्रवृत्ति दोहोर्‍याएको छ।’

इरानी सभामुखले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘अमेरिकी राष्ट्रपतिले स्पष्ट रूपमा भनेका थिए- इरानको दशबुँदे प्रस्ताव वार्ताको 'आधार' हो। तर अहिलेसम्म यस प्रस्तावका तीन हिस्सा उल्लंघन गरिएको छ।’

इरानका अनुसार ‘लेबननमा पनि युद्धविराम गरिने सर्त पालना गरिएन। जबकि मध्यस्थकर्ता मुलुक पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले पनि स्पष्ट रूपमा भनेका थिए- युद्धविराम तुरुन्तै लागु गरिनुपर्छ लेबनन र अन्य क्षेत्रमा पनि।’

इरानी सभामुख गालिबाफले थप भनेका छन्, ‘जुन प्रस्तावमा वार्ता गरिनुपर्ने थियो, त्यो छलफल सुरु हुनुभन्दा अगाडि नै तोडिएको छ। यस्तो अवस्थामा दुईतर्फी युद्धविराम वा वार्ता कुनै अर्थ छैन।’

मंगलबार राति दुई हप्ताका लागि युद्धविराम गर्ने सहमति गरेका अमेरिका र इरानका प्रतिनिधिबिच शुक्रबार (अप्रिल १० मा) पाकिस्तानको इस्लामाबादमा स्थायी शान्तिका लागि वार्ता हुने बताइएको थियो। 

यी हुन् इरानले अमेरिकालाई पठाएका दश बुँदा

१. आक्रमण पूर्ण रूपमा अन्त्य

-अमेरिका र इजरायललाई सबै सैन्य आक्रमण बन्द गरिनुपर्ने माग गरिएको छ।

२. सबै प्रतिबन्ध हटाउने

-सबै आर्थिक प्रतिबन्ध हटाइनुपर्ने माग गरिएको छ।

३. स्थिर सम्पत्ति फिर्ता गर्ने

-आफ्ना सबै फ्रिज फन्ड तथा सम्पत्ति फिर्ता गरिनुपर्ने 

४. युद्धको स्थायी अन्त्य

-युद्धविराम मात्र होइन, युद्धको पूर्ण अन्त्य गरिनुपर्ने माग

५. अमेरिकी सेना फिर्ता गर्ने

-इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाबाट अमेरिकी सेना फिर्ता गर्नुपर्ने 

६. क्षतिपूर्ति

-युद्धका क्रममा भएका क्षतिबापत आर्थिक मुआब्जा वा पुनर्निर्माणको व्यवस्था 

७. होर्मुज स्ट्रेटमा नियन्त्रण

-होर्मुज स्ट्रेटमा इरानको नियन्त्रण हुनुपर्ने 

८. सुरक्षित आवतजावत तर सर्तसहित

-होर्मुज स्ट्रेटबाट जहाजहरूलाई आवतजावतका लागि अनुमति दिइने तर इरानी सेनासँग समन्वय गरेर।

९. जहाजलाई शुल्क 

-इरानले होर्मुज स्ट्रेट भएर आवतजावत गर्ने प्रतिजहाज लगभग २० लाख डलर शुल्क लिने प्रस्ताव गरेको छ। जुन ओमानसँग सेयर गरिनेछ।

१०. क्षेत्रीय द्वन्द्वको पनि अन्त्य

-लेबननमा हेजबुल्लाहविरुद्ध आक्रमणसहित क्षेत्रीय आक्रमण पनि अन्त्य गरिनुपर्ने

इजरायलले बुधबार गरेको आक्रमणमा २५४ जनाको मृत्यु र १ हजार १६५ भन्दा बढी व्यक्ति घाइते भएपछि लेबननमा राष्ट्रिय शोक घोषणा गरिएको छ।

बुधबार इजरायलले गरेको हवाई हमलाले लेबननको बेरुतमा ध्वस्त भवन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad