इजरायलले बुधबार गरेको आक्रमणमा २५४ जनाको मृत्यु र १ हजार १६५ भन्दा बढी व्यक्ति घाइते भएपछि लेबननमा राष्ट्रिय शोक घोषणा गरिएको छ।
लेबननी नागरिक रक्षा टोलीका अनुसार बेरुत, बालबेक, हर्मेल, नाबाटिएह, एले जिल्ला, सिदोन र टायरमा भीषण हमला गरिएको हो।
लेबननी प्रधानमन्त्री नवाफ सलामले इजरायलको आक्रमण रोक्न सबै राजनीतिक र कूटनीतिक स्रोत परिचालन गरिरहेको बताएका छन्।
स्वास्थ्यमन्त्री राकान नसरेद्दिनले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेका छन्। ठुलो संख्यामा घाइतेहरूको उपचार भइरहेकाले स्वास्थ्य प्रणालीमै समस्या देखिएको छ।
मंगलबार राति मात्र अमेरिका र इरानबिच दुई हप्ताका लागि युद्धविराम सम्झौता भएको थियो। त्यसको भोलिपल्टै इजरायलले लेबननमा ठुलो हमला गरेको हो।
यसैबिच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले युद्धविराम सम्झौतामा लेबनन नपर्ने बताएका छन्।
अमेरिकाका उपराष्ट्रपति भान्सले भने, ‘हामीले त्यस्तो (लेबननमा आक्रमण नहुने) कुनै वाचा गरेका छैनौँ।’
तर अमेरिका-इरान सम्झौतामा मध्यस्थता गरेको पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले युद्धविराम लेबननमा पनि लागु हुने बताएका थिए।
यसैबिच इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकालाई युद्धविराम र युद्धमा एउटा रोज्न भनेका छन्।
समाचार एजेन्सी एपीका अनुसार इजरायलले आक्रमण गरेपछि इरानले जलमार्ग होर्मुज स्ट्रेट पुनः बन्द गरेको छ।
Shares

प्रतिक्रिया