ग्लोबल


इरान युद्धबारे ट्रम्पले गरे राष्ट्रलाई सम्बोधन, यस्ता छन् प्रमुख ७ बुँदा

इरान युद्धबारे ट्रम्पले गरे राष्ट्रलाई सम्बोधन, यस्ता छन् प्रमुख ७ बुँदा

नेपालखबर
चैत १९, २०८२ बिहिबार १०:१५, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बिहान राष्ट्रका नाममा सम्बोधन गरेका छन्।

यस क्रममा उनले इरानविरुद्धको युद्ध जितेको दाबी गरे। 

साथै उनले दुईदेखि तीन हप्ताभित्र अमेरिकाले इरानमा ठुलो आक्रमण गर्ने चेतावनी पनि दिए।

ट्रम्पले अगाडि भने, ‘इरानको क्षेप्यास्त्र/ड्रोन क्षमता र नौसेना नष्ट भएका छन्। उसको सैन्य शक्ति ठुलो मात्रामा कमजोर भएको छ। यस सैन्य कारबाहीको मुख्य उद्देश्य पूरा हुन लागेको छ।’

साथै उनले सम्झौतामा आएन भने इरानलाई ‘ढुंगे युगमा फर्काइदिने’ चेतावनी पनि दिए। 

यद्यपि उनले दाबी गरे, ‘इरानमा शासन परिवर्तन भएको छ र नयाँ नेतृत्व पहिलेभन्दा कम कट्टर छ।’

ट्रम्प सम्बोधनका प्रमुख ७ बुँदा
• इरानको क्षेप्यास्त्र/ड्रोन क्षमता र नौसेना समाप्त भएका छन् र सेना हाम्रो नियन्त्रणमा छ।
• इरानका सबै शीर्ष नेता मारिएका छन् र शासन परिवर्तन भएको छ।
• इरानले आफ्नै ४५,००० जनताको हत्या गरेको छ।
• हामी इरानलाई आणविक शक्ति बन्न दिँदैनौँ 
• सम्झौता भएन भने इरानलाई ध्वस्त पार्नेछौँ 
• होर्मुजबाट तेल चाहनेहरूले यसको रक्षा गर्नुपर्छ; हामीलाई यसको आवश्यकता छैन
• हामी साउदी अरब र बहराइनलाई एक्लै छाड्ने छैनौँ

ट्रम्पले राष्ट्रका नाममा गरेको १९ मिनेटको सम्बोधनमा कुनै नयाँ घोषणा गरेनन्। उनले केही समयदेखि भनिरहेका कुरा नै दोहोर्‍याएका हुन्। 

यसैबिच ह्वाइट हाउसमा ट्रम्पको सम्बोधनपछि विश्व बजारमा तेलको मूल्य बढेको छ। 

बीबीसी संवाददाता पिटर हकिन्सका अनुसार ट्रम्पले सम्बोधन गर्नुअघि बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब १०० अमेरिकी डलर थियो। 

तर ट्रम्पको सम्बोधनपश्चात् कच्चाको तेलको मूल्य झन्डै ४ प्रतिशत बढेर १०५.३८ अमेरिकी डलर पुगेको छ।

ट्रम्पले सम्बोधनका क्रममा होर्मुज स्ट्रेटका विषयमा घोषणा गर्ने अपेक्षा गरिएको थियो। तर यस विषयमा उनले कुनै अद्यावधिक जानकारी नदिएपछि तेलको मूल्य बढ्दै गएको हो। 

होर्मुज जलमार्ग विश्वव्यापी अर्थतन्त्रका लागि महत्त्वपूर्ण छ। विश्वको ऊर्जा व्यापारको झन्डै २० प्रतिशत ढुवानी यही साँघुरो समुद्री मार्ग भएर गरिन्छ। 

गत फेब्रुअरी २८ मा अमेरिका-इजरायलले इरानमा संयुक्त हवाई आक्रमण गरेर युद्ध सुरु गरेयता यो मार्ग लगभग बन्द गरिएको छ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा हवाई हमला गरेयता युद्ध जारी छ। बदलामा इरानले इजरायलका साथै अमेरिकी आधार/अड्डा रहेका खाडीका देशहरूमा पनि आक्रमण गरेका कारण एक महिनाभन्दा बढी समयदेखि मध्यपूर्व द्वन्द्वमय बनेको छ। 

जसमा परी अहिलेसम्म मारिएकाको संख्या ४ हजार ५०० नाघिसकेको छ। मारिएका मानिसमा सबैभन्दा बढी इरानका छन्।

कहाँ कति जना मारिए?

इरान : अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट्स इन इरानका अनुसार युद्ध सुरु भएदेखि अहिलेसम्म इरानमा ३ हजार ४ सय ९२ जना मारिइसकेका छन्। जसमा १ हजार ५ सय ७४ जना सर्वसाधारण नागरिक छन् भने कम्तीमा २ सय ३६ जना बालबालिका छन्।

इजरायल : इजरायली एम्बुलेन्स सेवा म्यागेन डेभिड एडोम (एमडीए) का अनुसार इजरायलमा मिसाइल आक्रमणमा परी अहिलेसम्म १९ जना मारिएका छन्। साथै लेबननमा नौ जना इजरायली सैनिक मारिएको इजरायली सेनाले जनाएको छ।

लेबनन : लेबननी स्वास्थ्य मन्त्रालयका अनुसार फेब्रुअरी २८ देखि अहिलेसम्म लेबननमा १ हजार २ सय ४७ जना मारिएका छन्, जसमा १२४ जना बालबालिका छन्। 

खाडी क्षेत्र : खाडी देशहरूमा हालसम्म कम्तीमा २४ जना मारिएका छन्, जसमध्ये धेरैजसो सुरक्षा बलका सदस्य वा विदेशी कामदार छन्। यीमध्ये ११ जना संयुक्त अरब इमिरेट्स (यूएई) मा र ७ जना कुवेतमा मारिएका हुन्। अनि ओमान, साउदी अरेबिया र बहराइनमा दुई-दुई जना मारिएको पुष्टि भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad