चीनका विदेशमन्त्री वाङ यीले इरानका विदेशमन्त्री अब्बास अराघचीसँग मंगलबार फोनमा कुरा गरेका छन्।
यस क्रममा अराघचीले इरान युद्ध रोक्न तयार रहेको तर अस्थायी युद्धविराम नचाहेको बताए।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार अराघचीले वाङ यीसँग भने, ‘इरान केवल अस्थायी युद्धविराम होइन, युद्ध पूर्ण रूपमा अन्त्य गर्न चाहन्छ।’
उनले यो पनि भने, ‘होर्मुज स्ट्रेट सबैका लागि खुला छ, जहाजहरू सुरक्षित रूपमा जान सक्छन्, तर यस युद्धमा संलग्न देशहरूका जहाज त्यहाँबाट जान सक्दैनन्।’
जवाफमा वाङ यीले ‘युद्धभन्दा वार्ता राम्रो’ भएको कुरामा जोड दिए।
उनले भने, ‘चीन सबै पक्षलाई सकेसम्म चाँडो शान्ति पुनर्स्थापित गर्न अपिल गर्छ।’
उल्लेखनीय छ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै इरानसँग वार्ता भइरहेको दाबी गरिसकेका छन्।
पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले पनि अमेरिका र इरानले चाहेमा आफ्नो देश मध्यस्थता गर्न तयार रहेको बताएका छन्।
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता निरन्तर युद्ध जारी छ।
यसबिच इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्।
अमेरिका-इजरायलको आक्रमणबाट इरानमा अहिलेसम्म ३ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ।
Shares

प्रतिक्रिया