ग्लोबल


‘होर्मुज स्ट्रेट’बारे २२ देशको संयुक्त विज्ञप्ति: हामी मार्ग सुरक्षाका लागि योगदान गर्न तयार छौँ

‘होर्मुज स्ट्रेट’बारे २२ देशको संयुक्त विज्ञप्ति: हामी मार्ग सुरक्षाका लागि योगदान गर्न तयार छौँ

नेपालखबर
चैत ८, २०८२ आइतबार ६:४, काठमाडौँ

संयुक्त अरब इमिरेट्स (यूएई) को विदेश मन्त्रालयले होर्मुज स्ट्रेटमा व्यापारिक जहाजमा गरिएको आक्रमणविरुद्ध २२ देशको संयुक्त विज्ञप्ति सार्वजनिक गरेको छ।

जसमा यूएई, बेलायत, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, जापान, क्यानडा, दक्षिण कोरिया, न्युजिल्यान्ड, डेनमार्क, लाटभिया, स्लोभेनिया, इस्टोनिया, नर्वे, स्विडेन, फिनल्यान्ड, चेक रिपब्लिक, रोमानिया, बहराइन, लिथुआनिया र अस्ट्रेलियाका नेताहरूले हस्ताक्षर गरेका छन्। 

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘हामी इरानद्वारा हालै गरिएका आक्रमणको कडा निन्दा गर्छौं। आक्रमण निहत्था व्यापारी जहाजहरूविरुद्ध गरिएको छ। साथै तेल र ग्यास पूर्वाधारसहित नागरिक संरचनामा पनि आक्रमण गरिएको छ। इरानी सेनाले होर्मुज स्ट्रेटलाई लगभग बन्द गरिसकेका छन्।’

‘समुद्री मार्गको स्वतन्त्रता अन्तर्राष्ट्रिय कानुनको आधारभूत सिद्धान्त हो, जसमा समुद्री कानुनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि पनि समावेश छ। इरानको आक्रमणले विश्वभरका मानिसलाई, विशेषगरी पहिले नै कमजोर भएकाहरूलाई असर गर्नेछ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हामी सुरक्षित मार्ग सुनिश्चित गर्न आवश्यक प्रयासमा योगदान गर्न तयार छौँ। हामी यस दिशामा योजना बनाइरहेका देशहरूलाई स्वागत गर्दछौँ।’

उल्लेखनीय छ- यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै देशलाई होर्मुज स्ट्रेट सुरक्षाका लागि युद्धपोत पठाउन अपिल गरेका थिए।

अरब खाडीलाई ओमानको खाडी र त्यसभन्दा परको अरब सागरसँग जोड्ने स्ट्रेट अफ होर्मुज विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जामार्ग हो।

विश्वभर खपत हुने तेलको पाँचौँ हिस्सा र ठुलो मात्रामा ग्यास ओसारपसार हुने जलमार्ग स्ट्रेट अफ होर्मुजका एकातिर ओमान र यूएई छन् भने अर्कातिर यो इरानको बिचमा पर्छ। 

यहाँबाट पार हुने कच्चा तेल इरान, इराक, कुवेत, कतार, साउदी अरब र यूएईबाट आउँछ। साथै स्ट्रेट अफ होर्मुजले एलएनजी व्यापारमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ।

अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए) का अनुसार स्ट्रेट अफ होर्मुज हुँदै अधिकांश कच्चा तेल एसिया जान्छ, जसमा चीन, भारत, जापान र दक्षिण कोरियाले करिब ७० प्रतिशत हिस्सा ओगट्छन्।

युरोपको करिब ३० प्रतिशत जेट इन्धन आपूर्ति यही स्ट्रेट अफ होर्मुजबाट हुन्छ भने विश्वव्यापी एलएनजी आपूर्तिको पाँचौँ हिस्सा यही जलमार्ग भएर जान्छ।

अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता निरन्तर युद्ध जारी छ। 

इरानमा अहिलेसम्म ३ हजार १८६ जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ। 

यसबिच इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्। 

यसैबिच अमेरिका र इजरायलसँग युद्ध सुरु भएयता इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को कुड्स फोर्सका प्रमुख कमान्डर ब्रिगेडियर जनरल इस्माइल कानीले पहिलोपटक शनिबार सार्वजनिक अभिव्यक्ति दिएका छन्।

जसमा उनले शीर्ष र वरिष्ठ नेता तथा अधिकारी मारिए पनि उनीहरूको आन्दोलन कमजोर नहुने उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad