अमेरिका र इजरायलसँग युद्ध सुरु भएयता इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को कुड्स फोर्सका प्रमुख कमान्डर ब्रिगेडियर जनरल इस्माइल कानीले पहिलोपटक यस विषयमा सार्वजनिक अभिव्यक्ति दिएका छन्।
कुड्स फोर्सलाई आईआरजीसीले विदेशमा सञ्चालन गर्ने अभियान सम्हाल्ने जिम्मेवारी छ।
इरानी सञ्चारमाध्यमले इस्माइल कानीको वक्तव्य सार्वजनिक गरेका छन्।
जसमा कानीले शीर्ष र वरिष्ठ नेता तथा अधिकारी मारिए पनि उनीहरूको आन्दोलन कमजोर नहुने उल्लेख गरेका छन्।
कानीले सन्देशमा भनेका छन्, ‘उहाँहरू नभए पनि अयातोल्लाह खोमेनी र उहाँद्वारा निर्धारित इस्लामिक गणतन्त्रको वैचारिक मार्ग नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको नेतृत्वमा शक्ति र अधिकारका साथ अगाडि बढिरहनेछ।’
इरानमा सरकारका अधिकारी र कमान्डरको नाममा लिखित सन्देश सञ्चार माध्यममार्फत सार्वजनिक गर्ने चलन बढ्दै गएको देखिन्छ।
शनिबारै मोज्तबा खामेनीको लिखित सन्देश पनि सरकारी टीभीमा प्रस्तोताले ठुलो स्वरमा पढेर सुनाएका थिए।
जबकि यसअघिका सर्वोच्च नेता खामेनीले परम्परागत रूपमा क्यामेराअगाडि बसेर आफ्नो सन्देश सुनाउँथे।
अमेरिका र इजरायलले गरेको संयुक्त हमलामा परी गत फेब्रुअरी २८ मा बुवा मारिएपछि मोज्तबा खामेनीलाई यही महिनाको सुरुमा इरानले नयाँ सर्वोच्च नेता बनाएको हो। यद्यपि उनी त्यसयता सार्वजनिक रूपमा देखा परेका छैनन्।
अमेरिका-इजरायले फेब्रुअरी २८ मा सर्वोच्च अली खामेनीलगायत इरानका थुप्रै शीर्ष नेता तथा अधिकारी मारेका थिए। त्यसपछि हालै मात्र इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी मारिएका छन्।
इरानमा अहिलेसम्म ३ हजार १८६ जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ।
इरानले पनि जवाफ हमला गरिरहेको छ। यस क्रममा उसले खाडीका मुलुकहरूलाई पनि निसाना बनाइरहेको छ।
यसैबिच इरानले हिन्द महासागरस्थित अमेरिका-बेलायतको संयुक्त सैन्य अड्डा डिएगो गार्सियामा ब्यालिस्टिक मिसाइल (क्षेप्यास्त्र) प्रहार गरेको छ।
सीएनएनले शनिबार प्रकाशन गरेको रिपोर्टअनुसार अमेरिकी अधिकारीहरूले उक्त हमला स्थानीय समयबमोजिम शुक्रबार बिहान भएको पुष्टि गरेका छन्।
उनीहरूका अनुसार इरानले दुई क्षेप्यास्त्र प्रहार गरेको हो। तर इरानी तटबाट ३ हजार ८१० किलोमिटर टाढा रहेको बेसमा क्षेप्यास्त्र लागेन।
डिएगो गार्सिया अमेरिकाका लागि एक महत्त्वपूर्ण सैन्य अड्डा हो। यो अमेरिकी वमवर्षकले प्रयोग गर्छन्।
ठुला ट्यांकर विमान जस्तै: केसी-१३५ र निगरानी विमान पनि यहाँबाट सञ्चालन गर्न सकिन्छ।
Shares

प्रतिक्रिया