इरानले रणनीतिक ‘स्ट्रेट अफ हर्मुज’ व्यवस्थापन तथा त्यहाँबाट पानीजहाजको सुरक्षित आवतजावत सुनिश्चित गर्ने विषयमा ओमानसँग भएको वार्तामा प्रगति भएको जनाएको छ। तेल तथा ग्यासको अन्तरराष्ट्रिय व्यापारका लागि महत्त्वपूर्ण मानिने उक्त जलमार्ग इरान र ओमानको जलक्षेत्रसँग जोडिएको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले शुक्रबार र शनिबार तेहरानमा इरान र ओमानका उपविदेशमन्त्रीबिच वार्ताका विभिन्न चरण सम्पन्न भएको बताएका छन्।
उनका अनुसार दुवै देशको सार्वभौम अधिकारको सम्मान गर्दै ‘स्ट्रेट अफ हर्मुज’बाट पानीजहाजको सुरक्षित आवतजावत सुनिश्चित गर्ने साझा सिद्धान्त र सञ्चालन संयन्त्र निर्माणमा वार्ता केन्द्रित थियो।
बकाईले वार्ता उपयोगी र प्रगतिपूर्ण रहेको बताउँदै दुई पक्षबिच प्राविधिक तथा राजनीतिक परामर्श जारी रहेको जानकारी दिए।
जुन महिनामा इरान र ओमानले ‘स्ट्रेट अफ हर्मुज’हुँदै आवतजावत गर्ने पानीजहाजलाई सेवा शुल्क लगाउने विषयमा छलफल गर्ने बताएका थिए। अमेरिकाले भने उक्त प्रस्तावको विरोध गरेको थियो।
ओमानले आफ्नो जलक्षेत्र हुँदै पानीजहाजलाई ‘स्ट्रेट अफ हर्मुज’पार गर्न सकिने बताएपछि इरान असन्तुष्ट बनेको थियो। त्यसपछि तेहरानले जलमार्गमा तनाव बढाउने कदम चालेको थियो।
इरानले शनिबार करिब दुई सातासम्म चलेको अमेरिकाको आक्रमणपछि पछिल्लो समय कुनै हमला नभएको जनाएको छ।
समाचार वेबसाइट ‘एक्सियोस’का अनुसार अमेरिकाको रक्षा मन्त्रालय (पेन्टागन) ले राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष लगातार १४औँ रात इरानमा आक्रमण गर्ने योजना प्रस्तुत गरेको थियो। तर, ट्रम्पले पुनः वार्तालाई प्राथमिकता दिँदै उक्त योजना स्वीकृत गर्न अस्वीकार गरे।
रिपोर्टअनुसार ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्ने नयाँ व्यवस्थाबारे वार्ता गर्न ओमानको प्रतिनिधिमण्डल तेहरान पुगेपछि ट्रम्पले आक्रमण रोक्ने निर्णय गरेका हुन्।
यसैबिच ‘स्ट्रेट अफ हर्मुज’मा पानीजहाजको आवतजावतको अवस्थाबारे सोधिएको प्रश्नमा बकाईले हालसम्म कुनै परिवर्तन नभएको बताएका छन्।
Shares

प्रतिक्रिया