ग्लोबल


दक्षिण अमेरिकी देश गुयानाको मन्त्रीले संसद्‌मा हिन्दी भाषामा भाषण गरेपछि (भिडिओ)

दक्षिण अमेरिकी देश गुयानाको मन्त्रीले संसद्‌मा हिन्दी भाषामा भाषण गरेपछि (भिडिओ)

गुयानाका कृषिमन्त्री भारतीय मूलका विकास रामकिसुन।


नेपालखबर
माघ २८, २०८२ बुधबार १२:२३, काठमाडौँ

दक्षिण अमेरिकी देश गुयानाको संसद्‌मा भारतीय मूलका मन्त्री विकास रामकिसुनले हिन्दीमा भाषण गरेपछि भिडिओ भाइरल भएको छ।

संसद् सत्रका क्रममा विपक्षी दलले आफूलाई हिन्दी भाषा नआउने भनेपछि उनले हिन्दीमै जवाफ दिएका हुन्।

विपक्षी दलका सांसद विष्णु पाण्डेले सदनमा भनेका थिए, विकास रामकिसुनलाई हिन्दीको एक शब्द पनि आउँदैन।

त्यसपछि रामकिसुनले सभामुखसँग अनुमति मागेर हिन्दीमा जवाफ दिएका थिए। 

उनले भने, ‘म उनीहरूलाई अहिले नै चुनौती दिन्छु- कुनै पनि तहमा, कुनै पनि ठाउँमा विषय तय गर्नू, म कुनै पनि कागज नहेरी हिन्दीमा बहस गर्नेछु।’

भिडिओ भयो भाइरल

मन्त्री विकास रामकिसुनको भाषण गरेको भिडिओ सामाजिक सञ्जालमा सेयर गरेपछि भाइरल भएको छ।

यो भिडिओ भारतीय उच्चायोगले गुयानाको राजधानी जर्जटाउनबाट एक्समा पोस्ट गरेको हो।

भिडिओ हेरेपछि भारतसहित धेरै देशका मानिसले उनको हिन्दीको प्रशंसा गरेका छन्।

विकास रामकिसुन हाल गुयानामा कृषिमन्त्री छन्।  

गुयानामा ४० प्रतिशत भारतीय मूलका मानिस

गुयानामा भारतीय मूलको जनसंख्या ठुलो छ। कुल जनसंख्याको लगभग ४० प्रतिशत मानिस भारतीय मूलका छन्।

गुयानामा भारतीय उपस्थितिको सुरुवात १८३८ मे ५ मा भएको हो। यस दिन भारतबाट ३९६ जना सम्झौता गरिएका मजदुरलाई ब्रिटिस गुयानामा लगिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

ती मजदुर मुख्यतया उत्तर भारतका विभिन्न भागबाट गएका थिए। उनीहरूलाई त्यहाँ उखु उद्योगमा काम गर्न लगिएको थियो।

यसपछि लगभग एक शताब्दीसम्म जारी रहेको इन्डेन्टेड श्रम प्रणालीको समयमा हजारौँ भारतीय त्यहीँ बसोबास गर्न थाले।

समय बित्दै जाँदा उनीहरूले त्यहाँको शिक्षा, प्रशासन र राजनीतिमा उपस्थिति बढाउँदै लगे।

हाल गुयानामा धेरै जना मन्त्री, सांसद र प्रमुख नेता भारतीय मूलका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad