अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सैन्य कारबाहीबाट बच्ने भए दुईवटा काम गर्नुपर्ने बताएका छन्।
बीबीसीका अनुसार अमेरिकाले खाडी क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाइरहेका बेला ट्रम्पले इरानलाई आक्रमणको चेतावनी दिएका हुन्।
ट्रम्पले भनेका छन्, ‘पहिलो- आणविक हतियार नराख। र, दोस्रो- प्रदर्शनकारीहरूलाई मार्न बन्द गर।’
उनले इरानमा जारी विरोध प्रदर्शनमा ‘हजारौँ मानिस मारिएको’ आरोप लगाएका छन्।
ट्रम्पले चेतावनी दिँदै भनेका छन्, ‘धेरै ठुला र शक्तिशाली अमेरिकी जहाज हाल इरानतिर गइरहेका छन्। हामीले तिनको प्रयोग गर्न नपरे राम्रो हुनेछ।’
जवाफमा इरानले पनि अमेरिकालाई कडा चुनौती दिएको छ।
इरानका विदेशमन्त्री अब्बास अराघ्चीले कुनै पनि आक्रमणको प्रतिकार गर्न देशको सशस्त्र बल पूर्ण रूपमा तयार रहेको बताएका छन्।
‘कुनै पनि आक्रमण भएमा इरान तुरुन्तै र पूर्ण शक्तिका साथ जवाफ दिन तयार छ’, उनले भनेका छन्, ‘सेनाका औँला ट्रिगरमा छन्।’
ट्रम्पले केही हप्तादेखि इरानलाई आणविक कार्यक्रममा सम्झौता गर्न दबाब दिइरहेका छन्।
बीबीसी खोजबाट पत्ता लागेका कुरा
‘ओपन-सोर्स टुल्स’ प्रयोग गरेर बीबीसी भेरिफाईश्वरको ले हालै यस क्षेत्रमा गरिएका अमेरिकी सैन्य तैनाथीमध्ये केहीको ट्र्याक गरेको छ।
यस क्रममा स्याटेलाइट तस्बिरले देखाउँछन्- कम्तीमा १५ लडाकु जेट जोर्डनको मुवाफक एयर फोर्स बेसमा आइपुगेका छन्।
साथै जोर्डन, कतार र हिन्द महासागरमा डिएगो गार्सियामा रहेका सैन्य अड्डामा आइपुगेका विमानको संख्या बढेको पनि देखिएको छ।
बीबीसी भेरिफाईले मध्यपूर्व क्षेत्रमा आइपुगेका दर्जनौँ कार्गो तथा इन्धन भर्ने विमान पहिचान गरेको छ। फ्लाइटराडार-२४ ट्र्याकिङ साइटमा इरानी हवाई क्षेत्रनजिकै ड्रोन र पी-८ पोसेडन जासुस विमान उडिरहेका पनि देखिएका छन्।
अमेरिकाका एक रक्षा अधिकारीले बीबीसी भेरिफाइसँग पुष्टि गरेका छन्, ‘ट्रम्पले उल्लेख गरेको नौसेना 'आर्माडा'को नेतृत्व गर्ने यूएसएस अब्राहम लिंकन विमानवाहक युद्धपोत पनि मध्यपूर्व आइपुगेको छ।’
सोमबार फ्लाइटराडार-२४ ले ओमानमा ओस्प्रे विमान अवतरण गरेको पत्ता लगाएको छ। जुन विमान खाडी क्षेत्रबाट आएको थियो र यसले 'अब्राहम लिंकन' जहाज वरपर सक्रिय हुन सक्छ भन्ने संकेत गरेको छ।
रिस्क एडभाइजरी फर्म सिबिलिनकी प्रमुख विश्लेषक मेगन सटक्लिफले भनिन्, ‘बितेका दुई हप्तामा अमेरिकाले यस क्षेत्रमा आफ्ना नौसेना र हवाई संसाधनको तैनाथी द्रुत गतिमा बढाएको छ, जसले गर्दा उसको क्षेत्रीय उपस्थिति उल्लेखनीय रूपमा बलियो भएको छ।’
स्याटेलाइन तस्बिरले के पनि देखाएका छन् भने कम्तीमा दुईवटा अमेरिकी निर्देशित मिसाइल विनाशक र तीन युद्धपोत बहराइनमा धेरै महिनादेखि तैनाथ छन्।
साथै तस्बिरले इरानले गत वर्षदेखि मात्र सञ्चालित आफ्नो ड्रोनवाहक आईआरआईएस सहिद बाघेरी इरानको तटनजिकै तैनाथ गरेको संकेत गरेका छन्।
इरानको आणविक कार्यक्रम र ट्रम्पको कारबाही
सन् २०१५ मा विश्व शक्तिसँग भएको आणविक सम्झौतामा इरानलाई ३.६७ प्रतिशत शुद्धताभन्दा बढी युरेनियम संवर्धन गर्ने अनुमति थिएन। यो एक व्यावसायिक आणविक ऊर्जा प्लान्टलाई इन्धन दिन आवश्यक पर्ने स्तर बराबर हो। साथै इरानलाई १५ वर्षसम्म आफ्नो फोर्डो प्लान्टमा कुनै पनि संवर्धन गर्न अनुमति दिइएको थिएन।
तर ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सन् २०१८ मा यस सम्झौताबाट आफ्नो देशलाई अलग गराए।
त्यसबेला उनले भनेका थिए- यो सम्झौता इरानलाई आणविक बम विकास गर्नबाट रोक्न पर्याप्त छैन।
पछि अमेरिकाले इरानविरुद्ध पुन: प्रतिबन्ध लगायो, जसले इरानको अर्थतन्त्रलाई गम्भीर क्षति पुर्यायो।
जवाफमा इरानले सम्झौताका सर्त बारम्बार उल्लंघन गर्न थाल्यो, खासगरी समृद्ध युरेनियमसँग सम्बन्धित सर्त, जुन आणविक रिएक्टरका लागि इन्धनका रूपमा प्रयोग गरिन्छ भने यसबाट आणविक हतियार पनि बनाउन सकिन्छ।
अमेरिकी सञ्चारमाध्यमले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै भनेका छन्, ‘कुनै नयाँ आणविक सम्झौताअन्तर्गत इरानलाई युरेनियम संवर्धन रोक्नपर्छ, उसको क्षेप्यास्त्र कार्यक्रम सीमित गराउनुपर्छ र मध्यपूर्वमा प्रोक्सी समूहलाई समर्थन दिन बन्द गराउनपर्छ।’
अमेरिकाले पछिल्लो समय गत वर्ष जुनमा इरानका आणविक स्थल फोर्डो, नातान्ज र इस्फहानलाई निसाना बनाई आक्रमण गरेको थियो।
त्यतिबेला अमेरिकी अधिकारीहरूले दाबी गरेका थिए, ‘मिडनाइट ह्यामर' नामको यो अपरेसनले इरानको आणविक हतियार बनाउने सम्भावनालाई ठुलो धक्का दिएको छ।’
यद्यपि इरानको राज्य प्रसारकका उपराजनीतिक निर्देशक हसन अबेदिनीले भनेका थिए, ‘कुनै ठुलो धक्का लागेको छैन। किनकि यी साइटट पहिले नै सामग्रीहरू हटाइएको थियो।’
तर आक्रमणको जवाफमा इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र हानेको थियो, जसलाई ट्रम्पले ‘धेरै कमजोर’ र ‘पहिले अनुमान गर्न सकिने’ भनेर टिप्पणी गरेका थिए।
Shares

प्रतिक्रिया