इरानमा जारी सरकारविरोधी प्रदर्शनमा अहिलेसम्म २ हजारभन्दा बढी मानिस मारिएको आशंका गरिएको छ।
यो जानकारी बीबीसी फारसी संवाददाता जियार गोलले दिएका हुन्।
गोलले भनेका छन्, 'हामी विश्वस्तताका साथ भन्न सक्छौँ कि मारिएकाहरूको संख्या हजारौँमा हुनुपर्छ।'
रोयटर्सले पनि एक इरानी सुरक्षा अधिकारीलाई उद्धृत गर्दै लेखेको छ- मृत्यु भएकाको संख्या लगभग २,००० हुन सक्छ।
यसैबिच संयुक्त राष्ट्र संघ मानव अधिकार कार्यालयका प्रवक्ता जेरेमी लरेन्सले जेनेभामा आयोजित सम्मेलनमा भने, 'रिपोर्टहरूले सयौँ मानिसहरू मारिएको र हजारौँलाई पक्राउ गरिएको संकेत गर्छन्।'
लरेन्सले थपे, 'यो अनुमान संयुक्त राष्ट्र स्रोतहरूमा आधारित छ र यी स्रोत भरपर्दा छन्।'
इरानमा भएको विरोध प्रदर्शनमा मारिएकाको वास्तविक संख्या धेरै कारण एकिन गर्न गाह्रो छ।
किनकि इरानमा अन्तर्राष्ट्रिय समाचार संस्थाहरूलाई सञ्चालन गर्न निषेध गरिएको छ र पाँच दिनदेखि इन्टरनेट पनि बन्द गरिएको छ।
देशमा बढेको महँगी र कमजोर आर्थिक अवस्थाको विरोधमा गत डिसेम्बर २८ देखि इरानमा जनप्रदर्शन भइरहेको हो।
यस क्रममा ठाउँठाउँमा प्रदर्शनकारी र सुरक्षाकर्मीबिच झडप पनि भइरहेका छन्।
Shares

प्रतिक्रिया