रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुईदिने भारत भ्रमणका लागि बिहीबार साँझ दिल्ली आइपुगेका छन्। उनीसँगै सात जना मन्त्रीको ठूलो प्रतिनिधिमण्डल पनि भारत आइपुगेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मोदी र पुटिनबीच आज शुक्रबार दुई महत्त्वपूर्ण भेटघाट हुने कार्यक्रम छ।
दुई नेताबीचको द्विपक्षीय भेटघाटका क्रममा भारत र रुसबीच २५ भन्दा बढी सम्झौतामा हस्ताक्षर हुनेछ।
पुटिनलाई आज स्थानीय समयअनुसार बिहान ९ बजे राष्ट्रपति भवनमा राजकीय स्वागत गरिनेछ। त्यसपछि उनी महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गर्न राजघाट जानेछन्।
२३औँ भारत-रुस वार्षिक शिखर सम्मेलन बिहान ११ बजे हैदराबाद हाउसमा आयोजना हुनेछ।
मोदी र पुटिनले शुक्रबार साँझ एक व्यापारिक मञ्चलाई पनि सम्बोधन गर्नेछन्। आजै साँझ राष्ट्रपति द्रौपदी मुर्मुले पुटिनको सम्मानमा राजकीय रात्रिभोज आयोजना गर्नेछिन्।
बिहीबार साँझ प्रधानमन्त्री मोदीले व्यक्तिगत रूपमा विमानस्थलमा पुटिनलाई स्वागत गरे। दुई नेताले एकअर्कालाई अँगालो हाले। मोदी र पुटिन विमानस्थलबाट प्रधानमन्त्री निवाससम्म एउटै कारमा यात्रा गरेका थिए।









Shares

प्रतिक्रिया