अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्ने आफूहरूको प्रस्ताव ‘अन्तिम’ नभएको बताएका छन्।
अमेरिकाले तयार पारेको शान्ति योजनामा राखिएका सर्तप्रति युक्रेन र उसका सहयोगीहरूले चिन्ता प्रकट गरिरहेका बेला ट्रम्पले यो नै अन्तिम नभएको बताएका हुन्।
बीबीसीका अनुसार शनिबार ह्वाइट हाउसमा ट्रम्पलाई पत्रकारहरूले सोधेका थिए, ‘हालको मस्यौदा युक्रेनका लागि अन्तिम प्रस्ताव हो कि होइन?’
जवाफमा उनले ‘होइन, यो मेरो अन्तिम प्रस्ताव होइन।’
उनले थपे, ‘कुनै न कुनै तरिकाले हामीले यो युद्ध अन्त्य गर्नुपर्छ, त्यसैले हामी यसमा काम गरिरहेका छौँ।’
अमेरिकी प्रस्तावका विषयमा यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका छन्, ‘युक्रेनले कि आफ्नो गरिमा कि अमेरिकाको साथ त्याग्नुपर्ने हुन्छ।’
यस्तै शनिबार युरोप, क्यानडा र जापानका नेताहरूले भनेका छन्, योजनामा न्यायपूर्ण र दिगो शान्तिका लागि महत्त्वपूर्ण तत्व छन्, तर अझ धेरै काम आवश्यक छ।’
उनीहरूले सीमा परिवर्तन गर्ने र युक्रेनको सेना घटाउने प्रस्तावमा चिन्ता व्यक्त गरेका छन्।
आज (आइतबार) बेलायत, फ्रान्स, जर्मनी, संयुक्त राज्य अमेरिका र युक्रेनका सुरक्षा अधिकारीहरू स्विट्जरल्यान्डको जेनेभामा भेट गर्दै छन्।
वास्तवमा ट्रम्पको शान्ति योजना रुसप्रति पक्षपाती मानिन्छ।
ट्रम्पले युक्रेनलाई २८-बुँदे योजना स्वीकार गर्न नोभेम्बर २७ सम्मको समय दिएका छन्।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यो योजना सम्झौताको ‘आधार’ बन्न सक्ने बताएका छन्।
अमेरिकाले तयार पारेको उक्त शान्ति योजनामा युक्रेन पूर्वी डोनेट्स्क क्षेत्रबाट पछि हट्नुपर्ने, सैन्य बलमा कटौती र कहिल्यै पनि नेटोमा सामेल नहुने ग्यारेन्टी समावेश छन्। यो अमेरिकी शान्ति योजना सञ्चारमाध्यममा चुहावट भएको थियो।
उक्त प्रस्तावप्रति युक्रेनले आपत्ति जनाएको छ।
Shares

प्रतिक्रिया