युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देश र रुसबीच जारी युद्ध अन्त्यका लागि अमेरिकाले राखेका सर्तलाई ‘इतिहासकै कठिन क्षणमध्ये एक’ भनेका छन्।
रुस–युक्रेन युद्ध अन्त्यका लागि भन्दै अमेरिकाले २८-बुँदे शान्ति ‘फ्रेमवर्क’ बनाएपछि शुक्रबार राष्ट्रलाई सम्बोधन गर्दै जेलेन्स्कीले गम्भीर चिन्ता प्रकट गरेका हुन्।
अमेरिकाले तयार पारेको उक्त शान्ति योजनामा युक्रेन पूर्वी डोनेट्स्क क्षेत्रबाट पछि हट्नुपर्ने, सैन्य बलमा कटौती र कहिल्यै पनि नेटोमा सामेल नहुने ग्यारेन्टी समावेश छन्। यो शान्ति योजना सञ्चारमाध्यममा चुहावट भएको थियो।
त्यसमा राखिएका सर्त युक्रेनले अस्वीकार गरेको हो।
राष्ट्रलाई सम्बोधनका क्रममा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले यसले अमेरिकाले आफ्नो देशप्रति राखेको समर्थन नै गुमाउने चेतावनी दिएका छन्।
जेलेन्स्कीले भनेका छन्, ‘युक्रेनले धेरै कठिन बाटो छनोट गर्नुपर्ने हुन सक्छ। हामीले कि आफ्नो गरिमा गुमाउनुपर्ने हुन्छ कि त सबैभन्दा महत्त्वपूर्ण साझेदार (अमेरिका)।’
उनले थपे, ‘यो हाम्रो इतिहासकै सबैभन्दा कठिन क्षणमध्ये एक हो।’
रुसले सन् २०२२ मा पूर्ण रूपमा आक्रमण गरेयता युक्रेनको २० प्रतिशत भूभाग कब्जा गरिएको छ।
Shares

प्रतिक्रिया