भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीमा सोमबार साँझ बम विस्फोट गराउनेहरूलाई नछाडिने बताएका छन्।
भ्रमणका लागि भुटान पुगेका प्रधानमन्त्री मोदीले आफू भारी मन लिएर भुटान आएको बताएका छन्।
उनले भने, ‘दिल्लीमा हिजो साँझ भएको भयानक घटनाले सबैलाई दु:खी बनाएको छ। म पीडित परिवारहरूको पीडा बुझ्छु। आज सिंगो राष्ट्र उनीहरूको साथमा उभिएको छ।’
‘म हिजो रातभरि यस घटनाको अनुसन्धानमा संलग्न सबै एजेन्सीहरूसँग र सबै महत्त्वपूर्ण व्यक्तिहरूसँग सम्पर्कमा थिएँ। छलफल जारी थियो। जानकारी एकसाथ संकलन भइरहेको थियो।’
प्रधानमन्त्री मोदीले अगाडि भने, ‘हाम्रा एजेन्सीहरू यस षड्यन्त्रको तल्लो तहसम्म पुग्नेछन्। यसका षड्यन्त्रकारीहरूलाई छाडिने छैन।’
भारतका रक्षामन्त्री राजनाथ सिंहले पनि नयाँ दिल्लीमा दिल्ली बम विस्फोटमा संलग्न व्यक्तिहरूलाई नछाडिने बताएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार साँझ ६:५२ बजे एउटा गुडिरहेको कारमा शक्तिशाली विस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
Shares

प्रतिक्रिया