दिल्लीका मुख्यमन्त्री रेखा गुप्तामाथि भएको आक्रमण घटनामा प्रहरीले अर्का व्यक्तिलाई पनि पक्राउ गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मुख्यमन्त्री गुप्ताको हत्या प्रयास आरोप लागेका राजेशभाइ खिमजीभाइ सकरियाका सहयोगी तहसिन सय्यदलाई पनि प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सैयदलाई अगस्ट २२ मा गुजरातको राजकोटबाट हिरासतमा लिइएको थियो। सोधपुछपछि उनलाई आइतबार औपचारिक रूपमा पक्राउ गरिएको हो।
यही अगस्ट २० तारिख बिहान मुख्यमन्त्री निवासमा आयोजित सार्वजनिक सुनुवाइका क्रममा मुख्यमन्त्री रेखा गुप्तामाथि आक्रमण भएको थियो। उजुरीकर्ताका रूपमा आएका राजेशले मुख्यमन्त्रीलाई कागजात दिँदै गर्दा उनको हात तानेका थिए। त्यस क्रममा रेखाका हात, काँध र टाउकोमा चोट लागेको थियो।
घटनालगत्तै प्रहरीले राजेशलाई पक्राउ गरेको थियो। उनीविरुद्ध हत्या प्रयासको जाहेरी दर्ता गरिएको छ। उनी ५ दिनको प्रहरी हिरासतमा छन्। गुप्तचर ब्युरो र दिल्ली प्रहरीको विशेष सेलले उनलाई सोधपुछ गरिरहेको छ।
घटना भएको साँझ मुख्यमन्त्री रेखाले एक्समा लेखेकी थिइन्, ‘सार्वजनिक सुनुवाइका क्रममा ममाथि भएको आक्रमण दिल्लीको सेवा गर्ने र जनताको कल्याण गर्ने संकल्पमाथिको कायरतापूर्ण प्रयास हो। आक्रमणपछि म स्तब्ध भएँ।...’
Shares

प्रतिक्रिया