ग्लोबल


तालिबान सरकारलाई मान्यता दिने पहिलो देश बन्यो रुस

तालिबान सरकारलाई मान्यता दिने पहिलो देश बन्यो रुस

अफगानिस्तानका विदेशमन्त्री अमिर खान मुत्ताकी


नेपालखबर
असार २०, २०८२ शुक्रबार ११:१, काठमाडौँ

रुस अफगानिस्तानमा तालिबान शासनलाई औपचारिक रूपमा मान्यता दिने पहिलो देश बनेको छ।

अफगान विदेशमन्त्री अमिर खान मुत्ताकीले यसलाई ‘साहसी’ निर्णय भनी प्रशंसा गरेका छन्।

बीबीसीका अनुसार रुसी राजदूत दिमित्री झिरनोभले बिहीबार काबुलमा अफगान विदेशमन्त्रीलाई भेट्दै अफगानिस्तानको इस्लामिक इमिरेट्सलाई मान्यता दिने आफ्नो सरकारको निर्णय आधिकारिक रूपमा जानकारी गराएका हुन्। 

मुत्ताकीले भने, ‘यो सकारात्मक सम्बन्ध, पारस्परिक सम्मान र रचनात्मक साझेदारीको नयाँ चरण हो र यो परिवर्तन अन्य देशका लागि उदाहरण बन्नेछ।’

अगस्ट २०२१ मा सत्तामा फर्केदेखि तालिबानले बढ्दो मानव अधिकार उल्लंघनबारे रिपोर्टका बाबजुद अन्तर्राष्ट्रिय मान्यता र लगानी खोजेको छ।

रुसको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भनेको छ, ‘हामी विश्वास गर्छौं- अफगानिस्तानको इस्लामिक इमिरेट्सको सरकारलाई आधिकारिक रूपमा मान्यता दिनाले हाम्रा देशबीच द्विपक्षीय सहयोगको विकासलाई प्रवर्द्धन गर्नेछ।’

साथै रुसले ऊर्जा, यातायात, कृषि र पूर्वाधारमा व्यापार र आर्थिक सहयोगको सम्भावना देखिएको र आतंकवाद तथा लागुपदार्थ तस्करीको खतरासँग लड्न काबुललाई मद्दत गर्न जारी राखिने जनाएको छ। 

२०२१ मा अफगानिस्तानमा आफ्नो दूतावास बन्द नगर्ने धेरै कम देशमध्ये रुस पनि एक थियो।

२०२२ मा तालिबानसँग अन्तर्राष्ट्रिय आर्थिक सम्झौतामा हस्ताक्षर गर्ने पहिलो देश पनि रुस थियो।

यस सम्झौताअन्तर्गत यसले अफगानिस्तानलाई तेल, ग्यास र गहुँ आपूर्ति गर्न सहमति जनाएको थियो।

रुसी विदेश मन्त्रालयका अनुसार, यस वर्ष अप्रिलमा तालिबानलाई रुसको आतंकवादी संगठनको सूचीबाट हटाइएको थियो।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि गत वर्ष जुलाईमा आतंकवादसँग लड्न तालिबानलाई ‘सहयोगी’ भनेका थिए।

तालिबान प्रतिनिधिहरूले २०१८ को सुरुमा वार्ताका लागि रुसको राजधानी मस्कोको भ्रमण गरेका थिए।

यद्यपि दुई देशको इतिहास धेरै जटिल छ। १९७९ मा सोभियत संघले अफगानिस्तानमा आक्रमण गर्‍यो र नौ वर्षसम्म युद्ध लड्यो।

यस युद्धमा १५ हजार सोभियत संघका सैनिक मारिए र अन्ततः फेब्रुअरी १९८९ मा अफगानिस्तानबाट फिर्ता भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad