ad ad

ग्लोबल


मोदी आज लगातार तेस्रोपटक प्रधानमन्त्रीको शपथ खाँदै, नेहरुको कीर्तिमान बराबरी गर्दै

मोदीसँगै ४० मन्त्रीले शपथ खाने सम्भावना, साँझ ७:१५ बजे राष्ट्रपति भवनमा समारोह
मोदी आज लगातार तेस्रोपटक प्रधानमन्त्रीको शपथ खाँदै, नेहरुको कीर्तिमान बराबरी गर्दै

नेपालखबर
जेठ २७, २०८१ आइतबार ७:३१, काठमाडौँ

भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीले आज (आइतबार) पदको शपथ खाँदै छन्। 

भर्खरै सम्पन्न १८औँ लोकसभा निर्वाचनमा उनको पार्टी भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन एनडीएले ५४३ सदस्यीय लोकसभामा बहुमत २९२ सिट जितेपछि मोदी लगातार तेस्रोपटक भारतका प्रधानमन्त्री बनेका हुन्। 

यसपटक भाजपा एक्लैले भने २४० सिट मात्र जितेको छ। यसअघि पनि मोदी एनडीएबाटै प्रधानमन्त्री बनेका थिए। तर त्यतिबेला भाजपा एक्लैले बहुमत सिट जितेको थियो।

आजको शपथ लिएपछि उनले भारतीय इतिहासमा लगातार तीनपटक प्रधानमन्त्री बनेका जवाहरलाल नेहरुको कीर्तिमान बराबरी गर्ने छन्। नेहरु सन् १९५२, १९५७ र १९६२ मा लगातार प्रधानमन्त्री बनेका थिए। 

भारतीय सञ्चारमाध्यमका अनुसार मोदीले तेस्रो कार्यकालका लागि आज साँझ ७ः१५ बजे प्रधानमन्त्री पदको शपथ खाने कार्यक्रम छ। 

शपथ ग्रहण समारोह राष्ट्रपति भवनमा हुनेछ। मोदीसँगै ४० सांसदले पनि मन्त्रीको शपथ लिन सक्नेछन्। 

यीमध्ये एनडीए गठबन्धनका १४ साझेदारका १८ सांसद समावेश हुन सक्छन्। टीडीपी र जेडीयूबाट २/२ र शिवसेनाबाट एक जना क्याबिनेट मन्त्री बन्न सक्नेछन्। 

शपथ नेपालसहित श्रीलंका, बंगलादेश, माल्दिभ्स, सेशेल्स, मौरिसस र भुटान गरी ७ राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहनेछ। चीन, पाकिस्तान र अफगानिस्तानका राष्ट्र प्रमुख भने सहभागी हुने छैनन्। 

मोदी पहिलोपटक सन् २०१४ मा प्रधानमन्त्री बनेका थिए। त्यसबेला उनको क्याबिनेटमा ४६ मन्त्री थिए। जसमध्ये २४ जना क्याबिनेट मन्त्री, १० स्वतन्त्र राज्यमन्त्री र १२ राज्यमन्त्री थिए। 

यसपछि लगातार मोदी सन् २०१९ मा प्रधानमन्त्री बने। त्यसबखत मोदीसँगै ५८ मन्त्रीले शपथ खाएका थिए। दुवै कार्यकालमा मन्त्रिपरिषद् विस्तार भएपछि मन्त्रीको संख्या ७१ र ७२ भएका थिए। 

भारतीय संविधानको धारा ७५ अनुसार मन्त्रिपरिषद्‌मा मन्त्रीहरूको संख्या लोकसभाको कूल सदस्य संख्या (५४३) को ८१ प्रतिशतभन्दा बढी हुनु हुँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .