ad ad

ग्लोबल


अमेरिकामा सी–बाइडेन भेटवार्ता : उच्चस्तरमा सैन्य सञ्चार पुनर्स्थापना गर्ने सहमति

अमेरिकामा सी–बाइडेन भेटवार्ता : उच्चस्तरमा सैन्य सञ्चार पुनर्स्थापना गर्ने सहमति

नेपालखबर
कात्तिक ३०, २०८० बिहिबार ९:६, काठमाडौँ

चीन र अमेरिका दुईपक्षीय उच्चस्तरीय सैन्य सञ्चार सम्पर्क पुनर्स्थापनालगायत विभिन्न महत्त्वपूर्ण बुँदामा सहमत भएका छन्।

चिनियाँ राष्ट्रपति सी चीनफिङ र उनका अमेरिकी समकक्षी जो बाइडेनबीच यो सहमति भएको हो।

लागुऔषध तस्करीविरुद्धको साझेदारीलाई पुनः ब्युँताउने, कृत्रिम बौद्धिकताका जोखिमबारे विज्ञको तहमा द्विपक्षीय छलफल र सहकार्य अघि बढाउनेलगायत विषयमा पनि शिखर वार्तामा सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। 

६ वर्षको रिक्तता तोडेर चिनियाँ सर्वोच्च नेता सी मंगलबार अमेरिका पुगेका हुन्। सान फ्रान्सिस्कोमा आयोजित एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन समिट (एपेक) मा भाग लिन सी अमेरिका पुगेका हुन्।

त्यही क्रममा दुवै विश्वशक्तिका शीर्ष नेताहरूबीच द्विपक्षीय भेटवार्ता पनि भएको हो। 

गत वर्ष अमेरिकी संसद्‌की सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन क्रूद्ध बनेको थियो। यसै वर्षको सुरुमा अमेरिकाले चीनले आफ्नो आकाशमा जासुसी बेलुन पठाएको आरोपसमेत लगाएको थियो। 

रुस र युक्रेनबीचको युद्धमा पनि यी दुवै शक्तिराष्ट्र विपरीत ध्रुवमा छन्। इजरायल र हमासबीचको द्वन्द्वमा अमेरिका स्पष्टतः इजरायलको पक्षमा उभिएको छ।

यो सन्दर्भमा सम्भावित सैन्य द्वन्द्वबाट बच्न चीन र अमेरिकाबीच भएको छलफललाई महत्त्वका साथ हेरिएको छ। उनीहरूबीच एक वर्षभन्दा बढीको अन्तरालपछि व्यक्तिगत तहमा पहिलोपटक वार्ता भएको हो।

सी अमेरिका जाँदा त्यहाँका राष्ट्रपति बाइडेनले भव्य स्वागत गरेका थिए। सीलाई अमेरिकामा स्वागत गर्न पाउँदा गौरव र खुसी लागेको बाइडेनले बताए। 

सीले प्रतिक्रियामा हाम्रो भेटका लागि यो महान् धर्ती नै पर्याप्त रहेको बताए।

दुई देशबीच धेरै भिन्नता भए पनि मित्रता कायम गर्न उत्तिकै सक्षम रहेको टिप्पणी उनले गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .