अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का प्रमुख एडमिरल ब्राड कुपरले इरानी बन्दरगाहमा नाकाबन्दी पूर्ण रूपमा लागू गरिएको दाबी गरेका छन्।
होर्मुज स्ट्रेटमा अमेरिकी सेनाले ३६ घण्टादेखि नाकाबन्दी जारी राखेको दाबी सेन्टकम प्रमुखले गरेका छन्।
उनले एक्समा लेखेका छन्, ‘नाकाबन्दी लागु भएको ३६ घण्टाभित्र अमेरिकी सेनाले इरान भित्र र बाहिर समुद्री व्यापार पूर्ण रूपमा रोकेको छ।’
सेन्टकम प्रमुखले इरानको अर्थतन्त्रको लगभग ९० प्रतिशत समुद्री अन्तर्राष्ट्रिय व्यापारमा निर्भर रहेको बताएका छन्।
यसअघि अप्रिल १२ मा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनाले होर्मुज स्ट्रेट पार गर्न प्रयास गर्ने सबै जहाजलाई रोकिने घोषणा गरेका थिए।
गत शनिबार र आइतबार पाकिस्तानमा इरानसँग २१ घण्टा भएको वार्ता असफल भएपछि ट्रम्पले होर्मुज स्ट्रेटमा नाकाबन्दी गराएका हुन्।
यद्यपि इरानसँग अर्को चरणको वार्ता हुने पनि ट्रम्पले बताएका छन्।
ट्रम्पले मंगलबार न्युयोर्क पोस्टसँग भनेका छन्, ‘आगामी दुई दिनमा केही हुन सक्छ र हामी त्यहाँ (पाकिस्तान) जान इच्छुक छौँ।’
यसैबिच अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘ठुलो सम्झौता’ गर्न चाहेको बताएका छन्।
सीबीएस न्युजका अनुसार मंगलबार जर्जियाको एथेन्समा आयोजित एक कार्यक्रममा भान्सले भने, ‘पाकिस्तानमा सप्ताहन्तमा भएको वार्तामा महत्त्वपूर्ण प्रगति भएको छ। ट्रम्प इरानसँग ठुलो सम्झौता चाहन्छन्, सानो होइन।’
उपराष्ट्रपति भान्सले दुई देशबिच गहिरो अविश्वास रहेको पनि स्वीकार गरे।
उनले भने, ‘यो समस्या रातारात समाधान हुन सक्दैन।’
गत हप्ता पाकिस्तानको राजधानी इस्लामाबादमा इरानसँग भएको वार्तामा अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति भान्सले नै गरेका थिए।
Shares

प्रतिक्रिया