अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘ठुलो सम्झौता’ गर्न चाहेको बताएका छन्।
सीबीएस न्युजका अनुसार जे.डी. भान्सले मंगलबार जर्जियाको एथेन्समा आयोजित एक कार्यक्रममा आफ्ना राष्ट्रपति ट्रम्प इरानसँग सानोतिनो होइन, ठुलै सम्झौता गर्ने सोचमा रहेको बताएका हुन्।
‘पाकिस्तानमा सप्ताहन्तमा भएको वार्तामा महत्त्वपूर्ण प्रगति भएको छ’, भान्सले भने, ‘ट्रम्प इरानसँग ठुलो सम्झौता चाहन्छन्, सानो होइन।’
उपराष्ट्रपति भान्सले दुई देशबिच गहिरो अविश्वास रहेको पनि स्वीकार गरे।
उनले भने, ‘यो समस्या रातारात समाधान हुन सक्दैन।’
गत शनिबार पाकिस्तानको राजधानी इस्लामाबादमा इरानसँग भएको वार्तामा अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति भान्सले नै गरेका थिए।
तर २१ घण्टा चलेको वार्ता बिनानिष्कर्ष सकिएको थियो। यद्यपि फेरि अर्को चरणको वार्ता चाँडै हुने अमेरिकाका राष्ट्रपति ट्रम्प स्वयंले बताएका छन्।
ट्रम्पले मंगलबार न्युयोर्क पोस्टसँग भनेका छन्, ‘आगामी दुई दिनमा केही हुन सक्छ र हामी त्यहाँ (पाकिस्तान) जान इच्छुक छौँ।’
Shares

प्रतिक्रिया