गण्डकी प्रदेश मन्त्रिपरिषद्मा व्यापक फेरबदल हुने भएको छ।
फेरिएका मन्त्रीहरूलाई केही बेरमै शपथ खुवाइँदै छ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सचिवालयका अनुसार एमाले र कांग्रेस गठबन्धनको सरकारमा रहेका सबैजसो मन्त्री फेरिँदै छन्।
मन्त्री फेरिँदै गरेको कुरा प्रदेशका एमाले सांसद भीम कार्कीले पनि पुष्टि गरे।
उनी पनि मन्त्री बन्दै छन्।
‘शपथ ग्रहणमा जानपर्यो भनेर फोन आएको छ,’ उनले नेपालखबरसँग भने, ‘कुन मन्त्रालय भन्ने थाहा छैन।’
एमालेबाट कास्की क्षेत्र नम्बर २ को ‘क’बाट निर्वाचित भीम कार्कीसहित समानुपातिकतर्फका गोविन्दबहादुर नेपाली पनि मन्त्री बन्ने निश्चित भएको स्रोतले बतायो।
गण्डकीमा ९ वटा मन्त्रालय छन्। जेनजी आन्दोलनपछि डा.बाबुराम भट्टराई नेतृत्वको पार्टी नेसपा (नयाँशक्ति) बाट ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका फणीन्द्र देवकोटाले राजीनामा दिएपछि सो मन्त्रालय मुख्यमन्त्री स्वयंले राखेका छन्।
कांग्रेसका तर्फबाट मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित आर्थिक मामिलामन्त्रीमा डा.टकराज गुरुङ,सामाजिक विकास,युवा तथा खेलकुदमन्त्रीमा विन्दुकुमार थापा, वन तथा वातावरण मन्त्रालयमा भेषबहादुर थापा मन्त्री छन्।
एमालेबाट कृषि भूमि तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पद्मा जिसी श्रेष्ठले सम्हालेकी छन् भने स्वास्थ्य मन्त्रालय कृष्णप्रसाद पाठक, उद्योग तथा पर्यटन मन्त्रालयमा मित्रलाल बस्याल र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी प्रकाशबहादुर केसीले लिएका छन्।
अब ती जिम्मेवारी फेरिने भएका हुन्।
Shares

प्रतिक्रिया