राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट अमेरिका जाने सामानहरूमा २५ प्रतिशत कर लगाउने घोषणा गरेपछि भारत सरकारले अमेरिकी स्टिल्थ लडाकु जेट एफ-३५ नकिन्ने भएको छ।
भारत सरकारका स्रोतहरूलाई उद्धृत गर्दै ब्लुमबर्गले यो जानकारी दिएको हो।
नाम नछाप्ने सर्तमा अधिकारीहरूले भारत सरकारले अमेरिकालाई निकट भविष्यमा एएफ-३५ सहित कुनै पनि प्रमुख रक्षा खरिद नगर्ने बताएको छ।
ती अधिकारीहरूले भारतले हतियारको संयुक्त विकास, प्रविधि हस्तान्तरण, भारतमा उत्पादन र रक्षा खरिदमा आत्मनिर्भरताजस्ता कुरालाई प्राथमिकता दिन जारी राख्ने पनि बताएका छन्।
लामो समयदेखि अमेरिकाका रक्षा अधिकारीहरूले यस वर्ष फेब्रुअरीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति ट्रम्पबीच भएको वार्तामा यी विमान खरिद गर्नेबारे छलफल भएको संकेत गरिरहेका छन्। ट्रम्पले मिडियाकाअगाडि भारतलाई एफ-३५ बेच्ने प्रस्तावबारे पनि कुरा गरेका थिए। तर भारतले कहिल्यै यसमा सहमति जनाएन।
त्यतिबेला दुई देशबीचको द्विपक्षीय व्यापार आगामी पाँच वर्षमा ५०० अर्ब डलर पुग्ने र यसका लागि अमेरिकाबाट ठूलो मात्रामा रक्षा खरिद गर्ने कुरा भएको थियो।
यसअन्तर्गत ट्रम्पले भारतलाई एफ-३५ विमान बेच्ने प्रस्ताव गरेका थिए। भारतले हालै अमेरिकाबाट रक्षा खरिद बढाएको छ र यसमा एमएच ६०आर सिहक हेलिकप्टर र पी-८आई समुद्री निगरानी विमान पनि छन्।
यसका बाबजुद भारतले देशमा उत्पादनको अवस्था पूरा नभएसम्म अमेरिकाबाट उच्च-प्रविधि खरिद गर्न अनिच्छा व्यक्त गरेको थियो।
Shares

प्रतिक्रिया