ग्लोबल


‘विश्वको गरिबी निवारणमा चीनको केन्द्रीय भूमिका’

‘विश्वको गरिबी निवारणमा चीनको केन्द्रीय भूमिका’

चेतनाथ आचार्य
मंसिर ३०, २०७७ मंगलबार १५:७,

चीन सरकारको राज्य परिषदले सोमबार र मंगलबार भर्चुअल रुपमा गरिबी निवारण सम्बन्धी वृहत कार्यशाला गोष्ठीको आयोजना गरेको छ। सो गोष्ठीमा नेपाल लगायत ४७ भन्दा बढी मुलुकका प्रतिनिधिहरु सहभागी भएर आफ्ना विचार व्यक्त गरेका छन्।

गोष्ठीलाई चीनका राष्ट्रपति सी चिनफिङले शुभकामना सन्देश दिँदै गरिबी उन्मुलन मानवजातिको साझा आदर्श रहेको र चिनियाँ कम्युनिष्ट पार्टी तथा चीन सरकारले यसका लागि दीर्घकालीन प्रयास गरेको औँल्याएका छन्।

आठ वर्षको अथक प्रयासपछि चालु वर्ष चीनले सम्पूर्ण रुपमा गरिबी निवारण गर्न सफल भएको बताउँदै उनले विश्वको गरिबी निवारण महाकार्यको लागि चीनले महत्वपूर्ण योगदान दिएको उल्लेख गरे। कोरोना महामारी फैलिरहेकाले विश्वव्यापी रुपमा गरिबी निवारणसामु गम्भीर चुनौती देखा परेका भन्दै चीनले विभिन्न मुलुकसँगै मिलेर अन्तर्राष्ट्रिय क्षेत्रमा गरिबी निवारण प्रक्रियालाई अघि बढाउँदै मानवजातिको संयुक्त भाग्य समुदायको निर्माण गर्दै जाने इच्छा पनि चिनियाँ राष्ट्रपति सीले व्यक्त गरेका छन्।

सो गोष्ठीलाई सम्बोधन गर्दै चिनियाँ कम्युनिष्ट पार्टीका पोलेटब्युरो सदस्य एवं प्रचार–प्रसार विभागका प्रमुख ह्वाङ खुन मिङले चिनियाँ कम्युनिष्ट पार्टीको १८औँ महाधिवेशनपछि पार्टी र सरकारले गरिबी निवारणलाई देश प्रशासनको महत्वपूर्ण स्थानमा राखेको र ८ वर्षमा १० करोड गरिब जनतालाई गरिबीबाट मुक्त गरेर विश्वलाई आश्चर्य पारेको बताए। चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारले जनतालाई सधैँ प्राथमिकतामा राखेर काम गर्दा यस्तो सफलता प्राप्त भएको उनले औँल्याए।

चीनले सुधार तथा खुलापन नीति सञ्चालन गरेको चार दशकभन्दा लामो समयदेखि ८० करोड मानिसलाई गरिबीबाट मुक्त गरेको छ र विश्वको गरिबी निवारणमा ७० प्रतिशतभन्दा बढी योगदान दिएको छ। चीनको यो चमत्कारलाई विश्व बैंकका पूर्व गभर्नर किम योङले मानव इतिहासमै सबैभन्दा महान उपलब्धि भनेर प्रशंसा गरेका छन्।

सेमिनारलाई सम्बोधन गर्दै चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्यालले चीनले प्राप्त गरेको अभूतपूर्व अनुभवबाट नेपालले ठूलो ज्ञान प्राप्त गर्ने बताए। गरिबी निवारणमा न्यु मिडियाको भूमिकामा बोल्दै पौड्यालले चिनियाँ माइक्रोब्लग तथा विभिन्न मिडियाले किसानका उत्पादनलाई सोझै उपभोक्तामा पुर्‍याएर उनीहरुको आम्दानी वृद्धि गराएको सुनाए।

परम्परागत मिडिया तथा न्यु मिडिया सबैले गरिबी निवारणमा महत्वपूर्ण काम गर्न सक्छन् भन्ने कुरा चीनमा आफूले राजदूत हुँदा प्रत्यक्ष देखेको बताउँदै केन्द्रीय सरकार र प्रान्तीय सरकारको समन्वय तथा सहकार्यलाई घनिभूत रुपमा व्यवहारमा उतारेको देखिएको बताए। पौड्यालका अनुसार चिनियाँ सरकार र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुको लगाव, प्रतिवद्धता, मिहिनेत, दुरगामी लक्ष्य र प्रभावकारी कार्यक्रमले यस्तो उपलब्धि प्राप्त भएको बताए।

नेपालबाटै अर्का सहभागी रे मिडिया ग्रुपका अध्यक्ष प्रकाशबाबु पौडेलले भूकम्प र लकडाउनको समयमा नेपाली संचार क्षेत्रले केही काम गरेको भन्दै नेपाली संचार जगतले पनि चिनियाँ संचार जगतले जस्तै गरिबी निवारणका लागि परियोजनाहरु संचालन गर्नुपर्ने विचार व्यक्त गरे। न्युमिडियाले जनतालाई शिक्षा, स्वास्थ्य, वातावरण जस्ता विविध विषयमा जनचेतना फैलाउने काम गर्ने र ती कामले पनि प्रत्यक्ष रुपमै गरिबी निवारणलाई टेवा पुग्ने पौडेलको विचार थियो।

उक्त गोष्ठीमा बेल्जियमका पूर्व प्रधानमन्त्री तथा बुल्गेरियाका पूर्व राष्ट्रपति पनि सहभागी थिए। युरोपबाट सहभागी धेरै व्यक्तिहरुले गरिबी निवारणमा चीनले प्राप्त गरेको उपलब्धिको प्रशंसा गर्नुका साथै पश्चिमा संचार माध्यमले सधैँ चीनको आलोचना गर्दै तथ्यलाई तोडमोड गरेकोमा असन्तुष्टि व्यक्त गरे।

चालु वर्ष आकस्मिक रूपमा फैलिएको कोरोना महामारीबाट एसियाका विभिन्न मुलुकको गरिबी अवस्थामा प्रभाव परेको र विश्वमा गरिबी निवारण क्षेत्रमा योगदान दिने सबभन्दा ठूलो क्षेत्र एसिया बनेको कुरा पोआउ एसिया मञ्चले मंगलबार प्रकाशन गरेको ‘एसियामा गरिबी निवारण २०२०’ मा उल्लेख छ।

आर्थिक वृद्धिमा फड्को मारिरहेको एसियाली विकासोन्मुख मुलुकको आर्थिक तथा सामाजिक संक्रमणले आधारभूत रूपमा विश्वको अर्थतन्त्र तथा गरिबी निवारणको मूल स्थितिमा परिवर्तन गराएको छ। सन् २०१९ सम्म अधिकांश एसियाली विकासोन्मुख मुलुकमा गरिबीदर ३ प्रतिशतभन्दा कम रहेको छ।

महामारीको प्रभावमा विश्वका विभिन्न मुलुकहरूमध्ये चीनमा गरिबी निवारण क्षेत्रमा हासिल भएका उपलब्धि आकर्षक भएको र लगभग ८० करोड जनसंख्यालाई चीनले गरिबीबाट मुक्त गरेकाले विश्व गरिबी निवारणमा चीनको ७० प्रतिशत योगदान रहेको कुरा उक्त प्रतिवेदनमा पनि उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad