ad ad

ग्लोबल


गोर्खाल्यान्डसम्बन्धी छलफल गर्न केन्द्रीय सरकारले बाेलायाे त्रिपक्षीय बैठक

गोर्खाल्यान्डसम्बन्धी छलफल गर्न केन्द्रीय सरकारले बाेलायाे त्रिपक्षीय बैठक

शैलेन्द्र समदर्शी
असोज १८, २०७७ आइतबार १४:३९,

भारतीय गोर्खाहरूको दीर्घलम्बित माग छुट्टै राज्य गोर्खाल्यान्डसम्बन्धी मुद्दालाई लिएर भारत सरकारको गृह मन्त्रालयले त्रिपक्षीय बैठक बोलाएको छ।

बैठक आउँदो ७ अक्टोबरका दिन नयाँ दिल्लीको नर्थ ब्लकमा हुनेछ, जसलाई केन्द्रीय गृह राज्यमन्त्री जी. किशन रेड्डीले अध्यक्षता गर्नेछन्।

यससम्बन्धमा डाइरेक्टर सीएस-२ रेणु सरिनद्वारा एक पत्र जारी गरिएको छ। पत्रका अनुसार बैठकमा गृह सचिव पश्चिम बङ्गाल सरकार, दार्जिलिङका जिल्लाशासक, गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्रधान सचिव र विमल गुरुङ नेतृत्वकाे गोर्खा जनमुक्ति मोर्चालाई निम्ताइएको छ।

यसैबीच केन्द्र सरकारले गोर्खाल्यान्डसम्बन्धी मुद्दामा त्रिपक्षीय वार्ता डाकेपछि विमल गुरुङ नेतृत्व गोजमुमोले हर्ष प्रकट गरेको छ। विमलपन्थी मोर्चाका कार्यकारी अध्यक्ष लोप्साङ लामाले केन्द्र सरकारले डाकेको बैठकमा ‘गोर्खाल्यान्डसम्बन्धी मुद्दाका लागि’ भनेर पत्रमा उल्लेख गरेकाले पनि अब चाँड़ै दार्जिलिङ पहाड़, तराई अनि डुवर्सवासीलगायत विश्वभरि छरिएर बसेका गोर्खाहरूले न्याय पाउने कुरामा आफूहरू विश्वस्त रहेको बताएका छन्।

‘आउँदो ७ अक्टोबरका दिन हुने बैठकले गोर्खाहरूका लागि एक सुनौलो भविष्यको ढोका खोल्ने कुरामा हामी विश्वस्त छौँ’, लामाले भनेका छन्।

यसैगरी गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-ले त्रिपक्षीय वार्ता गोर्खाल्यान्डकै लागि हो भने स्वागत जनाउने बताएको छ। साथै बैठकमा सहभागिता जनाउने दल गोजमुमोले केवल गोर्खाल्यान्डकै मुद्दा अडिग बस्नुपर्ने पनि सुझाएको छ।

अर्कोतिर, लगातार गोर्खाल्यान्डको मुद्दालाई उठान गर्दै आइरहेको क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले भने बैठकमा गोर्खाल्यान्ड मुद्दा नउठेर अन्य मुद्दामै छलफल हुन्छ कि भन्ने आशंका गरेको छ। क्रामाकपाले यस्तो शंका गर्नुका कारण बैठकमा गोर्खाल्यान्ड चाहने सबै दललाई नबोलाएर एक दललाई बोलाउनु हो।

‘गोर्खाल्यान्ड चाहने अन्य दलहरूलाई पर राखेर केवल एउटै दललाई मात्र बैठकमा बोलाउँदा ती दललाई अन्य व्यवस्थामा राजी हुन सत्तापक्षले बाध्य बनाउन सक्छ। यसैले क्रामाकपाले बैठकमाथि शंका गर्दछ’, क्रामाकपा प्रवक्ता गोविन छेत्रीले थपे, ‘तरै पनि हामी त्रिपक्षीय वार्तालाई स्वागत गर्छौं। विमल गुरुङपन्थी गोजमुमोले गोर्खाल्यान्डको मुद्दालाई प्रभावशाली ढंगमा उठाउन सक्नु पर्छ। र एउटै मागमाथि अडिग बस्नुपर्छ। किनभने भारतीय गोर्खाहरूले चाहेको गोर्खाल्यान्ड हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .