बेलायतमा चार्ल्स तृतीय राजा भएको चार वर्ष मात्र हुँदैछ। उनको यति छोटो शासन अवधिमा बेलायतले सोमबार चौथो प्रधानमन्त्री पाएको छ।
गत शुक्रबार लेबर पार्टीका दलका नेता चुनिएका ५६ वर्षीय एन्डी बर्नम प्रधानमन्त्री बनेका हुन्। सोमबार किअर स्टार्मरको राजीनामा लगत्तै उनको नियुक्ति भएको हो।
रोचक कुरा के छ भने एक दशकअघि नै राष्ट्रिय राजनीतिको महत्वाकांक्षा छाडेर उनी ग्रेटर म्यान्चेस्टरको मेयर बन्न गएका थिए। गत महिना मात्रै उनी विशेष चुनाव जितेर संसदमा फर्केका थिए। सांसद बनेको एक महिनामै उनी बेलायतको ५९ औँ प्रधानमन्त्री चुनिए।
प्रधानमन्त्री बन्ने उनको बाटो खुल्नुको कारण हो– किअर स्टार्मरको अचानकको पतन। ठूलो अन्तरले चुनाव जितेर प्रधानमन्त्री बनेका स्टार्मर पार्टीभित्रै अलोकप्रिय बनेपछि राजीनामा दिन बाध्य भए। यससँगै बेलायतको सरकार अपरीक्षित नेताको काँधमा आएको छ। जसका प्रति उच्च अपेक्षासँगै भारी जिम्मेवारी छ।
लिभरपुलमा जन्म, क्याम्ब्रिजमा अध्ययन
लिभरपुलमा जन्मेका बर्नमका पिता ब्रिटिस टेलिकमका इन्जिनियर थिए भने आमा रिसेप्सनिस्ट। उनको परिवार क्याथोलिक हो। बर्नम र उनका दाजुभाइ विश्वविद्यालय जाने परिवारको पहिलो पुस्ता थियो। बर्नमले मुलुककै पुरानो र प्रतिष्ठितमध्येको क्याम्ब्रिज युनिभर्सिटीमा पढेका थिए।
‘उनलाई क्याम्ब्रिजमा आवेदन दिन लगाउन अरुले निकै जोड गर्नुपरेको थियो। किनकि उनी आफूलाई कामदार वर्गको केटो ठान्थे र क्याम्ब्रिज आफ्नो लागि होइन भन्ने सोच्थे,’ हाइस्कुलमा उनका अंग्रेजी शिक्षक रहेका स्टिफन ह्यारिङ्टन भन्छन्, ‘सुरुमा उनलाई आफूमाथि विश्वास थिएन। तर, त्यो विश्वास पलायो र त्यसपछि जे भयो, दुनियाँलाई थाहा छँदैछ।’
बर्नमले क्याम्ब्रिजमा पढ्दा आफू गलत ठाउँमा आएको महसुस भएको बताएका छन्। जहाँ उनका सहपाठीहरू महँगा निजी स्कुल पढेर आएका थिए। तैपनि उनले अंग्रेजीमा डिग्री लिए र भविष्यकी पत्नी म्यारी फ्रान्स भान हिललाई पनि सोही स्थानमा भेटे। जो आज मार्केटिङ एक्जिकेटिभ छिन्। उनीहरूको सन् २००० मा विवाह भएको थियो। उनीहरूका एक छोरा र दुई छोरी छन्।
स्नातकपछि उनले व्यापारसम्बन्धी म्यागजिनहरूमा पत्रकारका रूपमा काम गरे। लेबर पार्टीका नेताहरूका लागि रिसर्चर र सल्लाहकार बनेपछि उनी राजनीतितिर तानिए।
२००१ मा उनी म्यान्चेस्टर क्षेत्रबाटै संसदमा चुनिए। टोनी ब्लेयर र गोर्डन ब्राउन प्रधानमन्त्री भएका बेला सरकारमा उनी माथि उक्लिँदै गए। ब्राउनको पालामा २००७ देखि २०१० सम्म उनले अर्थमन्त्री, संस्कृतिमन्त्री र स्वास्थ्यमन्त्रीको भूमिका सम्हाले।
२०१० मा लेबर पार्टीले चुनाव हारेपछि बर्नम दलको नेतामा उठे। तर, उनको हार भयो। २०१५ मा पनि उनले सो प्रयास गरे। यस पटक पनि उनी पराजित भए। त्यसपछि २०१७ मा संसद् छाडेर उनी ग्रेटर म्यान्चेस्टरको मेयर बन्न हिँडे।

‘किङ अफ द नर्थ’
औद्योगिक क्रान्ति जन्मिएको ठाउँ भनेर चिनिने म्यान्चेस्टर कुनै समय उत्पादनको केन्द्र थियो। तर, बेलायती उद्योग धराशायी भएसँगै यो स्थान पनि खोक्रो बन्न पुग्यो।
मेयर बनेपछि बर्नमले ‘म्यान्चेस्टरवाद’ अँगाले। यो व्यवसायमैत्री सामाजवादको एउटा स्वरूप थियो, जो निजी र सरकारी बजेट यातायात, हाउजिङ र पूर्वाधारमा लगानी गर्ने मोडल हो। बर्नममा मानिसहरूलाई एकठाउँ ल्याउने र अवसर चिन्ने खुबी अनि व्यावहारिकता दुवै थियो।
सोही कारण उनको पालामा म्यान्चेस्टर सहर फेरि बौरियो। उद्योग बन्द भएपछि रित्तिएको जग्गामा गगनचुम्बी भवनहरू उम्रिए। छिन्नभिन्न सार्वजनिक यातायात प्रणालीलाई नियन्त्रणमा लिएर उनले सुधार गरे।
सुट छाडेर जिन्स र टिसर्ट लगाउन थालेका उनी फुर्सदमा फुटबल खेल्थे। कोभिड महामारीका बेला उनले उत्तरी सहरहरूलाई बेवास्ता गरेर लन्डनकेन्द्रित भएको भन्दै उनले प्रधानमन्त्री बोरिस जोन्सनको चर्को आलोचना गरे।
अक्टोबर २०२० मा बर्नम पत्रकार सम्मेलन गरिरहेका थिए। जुन टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेको थियो। उनका एक सहयोगीले उनलाई फोन दिए। जहाँ उनले थाहा पाए– फेरि लकडाउन घोषणा गरिँदैछ।
त्यसपछि मेयर बर्नमले आक्रोशपूर्ण प्रतिक्रिया दिए।
‘राष्ट्रिय संकटका बेला देश चलाउने यो पनि कुनै तरिका हो? होइन नि। यो राम्रो भएन,’ बर्नमले भने।
लकडाउनले कामदार वर्गलाई ठूलो असर गर्ने उनको भनाइ थियो। ‘शक्तिमा हुनेहरूले तलका मान्छेलाई कति चाँडो बिर्सेको!’
उनको यो आक्रोश भाइरल भयो। महामारीको समयमा उनी कामदार वर्गका नायकका रूपमा स्थापित भए।
‘उनले आफ्नो असहाय स्थिति अभिव्यक्त गरेका थिए। म्यान्चेस्टरजस्तो ठाउँमा बाँच्दा कस्तो हुन्छ भन्ने कुरा सरकारलाई थाहा हुँदैन रहेछ भन्ने अनुभूति उनले सुनाएका थिए। यसले गर्दा उनी अलग खालका राजनीतिज्ञ हुन् भन्ने देखियो,’ म्यान्चेस्टरको न्युज साइट द मिलका संस्थापक जोसी हरम्यान भन्छन्, ‘मलाई लाग्छ, त्यो क्षण नभएको भए आज उनी प्रधानमन्त्री बन्न सक्दैनथे।’
उत्तरी सहरमा बसेर सत्ताधारी जोन्सनलाई चुनौती दिएकाले उनको नाम ‘गेम अफ थ्रोन्स’का एक पात्रझैँ ‘किङ अफ द नर्थ’ रहन पुग्यो। त्यसयता उनी मुलुककै लोकप्रिय नेतामध्ये एक रहँदै आएका छन्।
यता सरकारमा पनि आफ्नो काम अपुरो रहेको उनको भनाइ थियो। र, स्टार्मर पार्टीभित्रैबाट सत्ताच्युत हुने भएपछि उनले आफ्नो लागि मौका आएको देखे।
तर, प्रधानमन्त्री बन्न उनी सांसद थिएनन्। त्यसैले उनले फकाएर एक लेबर सांसदलाई राजीनामा दिन लगाए। जसका कारण म्यान्चेस्टरकै मेकरफिल्डमा विशेष चुनाव भयो। र उनले सहज जित हात पारे। सांसदको चुनाव जितेपछि उनले गत महिना मेयरबाट राजीनामा दिएका थिए।
स्टार्मरलाई विस्थापित गर्न भएको दलको नेताको चुनावमा उनी एक मात्र उम्मेदवार थिए।
आशा फर्काउने वाचा
प्रधानमन्त्री भएपछि एकता र आशामा आधारित नयाँ राजनीतिक सुरुवात गर्ने उनको वाचा छ। त्यस्तै, सबैका लागि काम लाग्ने अर्थतन्त्र विकास गर्ने पनि उनले बताएका छन्। त्यसका लागि क्षेत्रीय नेताहरूलाई बढी अधिकार दिने उनी बताउँछन्।
प्रधानमन्त्री कार्यालयको एउटा हिस्सा म्यान्चेस्टर सार्ने उनको भनाइ छ।
उनका समर्थकहरू बर्नमसँग मानिसहरूलाई प्रस्ट रूपमा आफ्नो कुरा सुनाएर सहमत गराउने खुबी रहेको बताउँछन्। त्यस्तै राजनीतिज्ञहरूमा विरलै पाइने समानुभूति पनि उनमा रहेको तिनको दाबी छ।
तर, आलोचकहरू उनको राजनीति अस्पष्ट रहेको तर्क गर्छन्। उनले भनेका योजनामा लगानी गर्न पैसा कहाँबाट आउँछ, र त्यसको भार कसले बोक्छ, त्यो प्रस्ट नरहेको उनीहरूको भनाइ छ। स्टार्मरले जेजस्ता आर्थिक समस्या झेलेका थिए, उनले पनि सोही समस्या सामना गर्नुपर्नेछ।
अर्कोतिर, विदेश मामिलामा उनी अनुभवहीन छन्। युक्रेन युद्धदेखि डोनाल्ड ट्रम्पसँगको सौदासम्म उनले कसरी सम्हाल्छन् प्रस्ट छैन।
३० लाख जनसंख्या रहेको सहर हाँकेर आएका उनलाई ७ करोड जनताको मुलुक चलाउन कठिन हुने कतिपयको अनुमान छ।
‘उनी मान्छेहरूसँग सिङ जुधाउन डराउँदैनन्,’ उनका आर्थिक सल्लाहकार रहिसकेका सासा लर्ड भन्छन्, ‘सबैलाई लाग्छ, एन्डी असल, सरल मान्छे हुन्। तर उनी जे चाहन्छन्, त्यो पूरा गरिछाड्छन्।’ एजेन्सी
Shares

प्रतिक्रिया