ग्लोबल


इजरायलको रक्षामा अमेरिकाले रित्यायो आफ्नो हतियार भण्डार

इरानी क्षेप्यास्त्र रोक्न इजरायल आफैँले भन्दा अमेरिकाले ज्यादा हान्यो इन्टरसेप्टर
इजरायलको रक्षामा अमेरिकाले रित्यायो आफ्नो हतियार भण्डार

नेपालखबर
जेठ ८, २०८३ शुक्रबार १६:६,

अमेरिकाले इजरायलको रक्षाका लागि इजरायल आफैँले भन्दा ज्यादा अत्याधुनिक क्षेप्यास्त्र प्रतिरोधी हतियार प्रहार गरेको खुलासा भएको छ। वासिङ्टन पोस्टमा प्रकाशित रिपोर्टअनुसार अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी हतियार भण्डारको ठूलो हिस्सा रित्तिन पुगेको छ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको मूल्यांकनबारे तीन अधिकारीहरूलाई उधृत गर्दै सो रिपोर्टमा उल्लेख अनुसार इजरायलको रक्षामा अमेरिकाले २०० वटा थाड इन्टरसेप्टर प्रहार गरेको थियो। त्यो अमेरिकाको जम्मा भण्डारका करिब आधा हिस्सा भएको जनाइएको छ।

त्यस्तै, अमेरिकाले १०० वटा भन्दा स्ट्यान्डर्ड मिसाइल ३ र स्ट्यान्डर्ड मिसाइल ६ प्रहार गरेको छ। 

यसको तुलनामा इजरायल आफैँले भने १०० वटाभन्दा कम एरो इन्टरसेप्टर र ९० वटाजति डेविड्स स्लिङ इन्टरसेप्टर प्रहार गरेको छ।

‘यो संख्याले प्रस्टै पार्छ,’ स्टिमसन सेन्टरकी केली ग्रिको भन्छिन्, ‘अधिकांश क्षेप्यास्त्र प्रतिरोधको जिम्मा अमेरिकाले लियो भने इजरायलले आफ्नो हतियार बचाएर राख्यो। अब अमेरिकासँग करिब २०० वटा थाड बाँकी छ र उत्पादनले माग धान्न सक्दैन।’

यसले एसियास्थित अमेरिकी सहयोगी मुलुकहरू झस्केका छन्। खासगरी जापान र दक्षिण कोरिया। 

‘समग्रमा अमेरिकाले इजरायलभन्दा १२० वटाले बढी इन्टरसेप्टर प्रहार गर्‍यो र इजरायलको तुलनामा दोब्बर इरानी क्षेप्यास्त्र रोक्यो,’ रिपोर्टमा पेन्टागनका अधिकारीलाई उधृत गरिएको छ।

यसले युद्ध पुनः सुरु भए अमेरिका अप्ठेरोमा पर्ने ती अधिकारीको भनाइ छ।

पेन्टागनले भने इजरायल र अमेरिकाले प्रतिरक्षाको बोझ समतामूलक ढंगले उठाएको बताएको छ।

इजरायलको जोडबलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा हमला गरेका थिए। ४० दिनको युद्धमा इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएका थिए। साथै इरानका महत्त्वपूर्ण ठेगानाहरूमा हमला गरिएको थियो। बालिकाहरूको स्कुलमा अमेरिकाले क्षेप्यास्त्र प्रहार गर्दा एकै ठाउँमा करिब १८० बालिका मारिएका थिए। 

ठूलो क्षतिका बाबजुद अमेरिका र इजरायलले इरानको सत्ता भने पल्टाउन सकेनन्। उल्टै हर्मुज जलमार्ग इरानले बन्द गरेपछि युद्ध अमेरिकाका लागि प्रत्युत्पादक बन्न पुग्यो। इरानको क्षेप्यास्त्र भण्डार ७० प्रतिशत हिस्सा अझै कायम रहेको अमेरिकी गुप्तचर निकायहरूको निष्कर्ष छ। 

यसले अमेरिका र इजरायलबीच पनि वैमनश्य पैदा गरेको बताइएको छ। अबको बाटो के भन्ने विषयमा मंगलबार नेतन्याहु र ट्रम्पबीच भएको फोनवार्ता तनावपूर्ण बनेको बताइएको छ। युद्ध फेरि सुरु गर्न नेतन्याहुले गरेको जोडबलका कारण कतिपय अमेरिकी अधिकारीहरू दिक्क भएको बताइएको छ। 

‘इजरायल आफ्नै भरमा युद्ध लड्न र जित्न सक्षम छैन तर यो कुरा कसैलाई थाहा छैन, किनकि उनीहरूले पछाडिको हिस्सा देखेका छैनन्,’ अर्का अधिकारीले भनेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad