‘समाजमा पहिल्यै टन्नै परजीवीहरू छन्, तिनले व्यवस्थामाथि आक्रमण गर्छन्। के तपाईं तिनीहरूसँग मिल्न खोज्दै हुनुहुन्छ? साङ्लाजस्ता युवाहरू छन्, जसले कुनै काम पाउँदैनन्, कुनै पेसामा ठाउँ पाउँदैनन्। तीमध्ये केही आफैँ मिडिया बन्छन्, कोही सामाजिक सञ्जाल, आरटीआई एक्टिभिस्ट र एक्टिभिस्ट बनेर सबैलाई आक्रमण गर्न थाल्छन्।’
यो भनाइ गतसाता भारतका प्रधानन्यायाधीश सूर्य कान्तले इजलासमा बोलेका थिए। वरिष्ठ अधिवक्ताको पदवी पाउन प्रयास गरिरहेका वकिललाई झपार्दै उनले यसो भनेका थिए। ती वकिलले फेसबुकमा लेखेको कुराप्रति टिप्पणी गर्दा उनी बेरोजगार र सामाजिक सञ्जालमा सक्रिय युवाहरूलाई परजीवीको संज्ञा दिन पुगे।
तर, प्रधानन्यायाधीशको यो उट्याट्याङ अभिव्यक्तिले भारतमा एउटा नसोचेको परिणाम दिएको छ। यसअघि कहिल्यै नदेखिएको अनलाइन आन्दोलन जन्मिन पुगेको छ।
प्रधानन्यायाधीशको टिप्पणीको खिल्ली उडाउँदै भोलिपल्टै मे १६ का दिन एक युवाले ककरोच जनता पार्टीको नामबाट सामाजिक सञ्जालमा खाता र वेबसाइट खोले। र, पाँच दिनमा सो पार्टीले इन्स्टाग्राममा विश्वकै ठूलो मानिने भारतीय जनता पार्टी र विपक्षी कंग्रेसलाई समेत उछिनेको छ।
इन्स्टामा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाका ८७ लाख फलोअर्स छन् भने कंग्रेसका एक करोड ३० लाख। तर, बिहीबार दिउँसोसम्ममा सो पार्टीको इन्स्टाग्राममा एक करोड ४४ लाख फलोअर्स भइसकेका छन्। अन्य सामाजिक सञ्जालमा पनि उसको फलोअर्स बढिरहेका छन्। कानुनी कारणले भन्दै भारतमा सो पार्टीको एक्स अकाउन्ट नदेखिने बनाइएको छ।
यसको सुरुवात गरेका हुन् ३० वर्षे युवा अभिजित दिपकेले। बोस्टन युनिभर्सिटीका विद्यार्थी उनले यसअघि आम आदमी पार्टीमा स्वयंसेवकका रूपमा काम गरेका थिए।
यो पार्टीलाई उनले मजाकमा ‘अल्छी र बेरोजगारहरूको आवाज’ भनेका छन्।
यसले भारतमा केही दिनयता ठूलो चर्चा उठाएको छ। केही दिनमै यसले मिमबाट डिजिटल आन्दोलनको स्वरूप लिएको छ। र, बेरोजगारी, राजनीतिक जवाफदेहीजस्ता मुद्दा उठाएको छ।
खासगरी जेनजी सामाजिक सञ्जाल प्रयोगकर्तामाझ यो लोकप्रिय बनेको बताइन्छ।
यसले राजनीतिकर्मीदेखि एक्टिभिस्टहरूको समर्थन पनि व्यापक पाएको छ। निर्देशक अनुराग कश्यप, कलाकारहरू दिया मिर्जा, इशा गुप्ता, फातिमा साना सेख, कमेडियन कुणाल कामराले यसलाई फलो गरेका छन् भने महुवा मोइत्रा, कीर्ति आजादलगायतले समर्थन गरेका छन्।
ककरोच जनता पार्टीले सामाजिक सञ्जालमा पुराना राजनीतिक शक्तिहरूलाई उडाउँदै युवाहरूको शक्तिलाई कम नआक्न चेतावनी दिएको छ।
Shares

प्रतिक्रिया