अमेरिका र इरानबीचको इस्लामावाद वार्ता निष्कर्षविहीन भएपछि दुवै पक्ष झण्डै युद्धअघिको अवस्थामा आइपुगेका छन्। त्यसैले अब के हुन्छ भन्ने आम जिज्ञासा छ।
६ हप्ता लामो युद्धमा दुवै पक्ष आफ्नो जित भएकोमा विश्वस्त छन्। त्यसैले उनी पछि हट्न चाहँदैनन्।
इजरायलको उक्साहटमा आफ्ना सल्लाहकारहरूको सुझाव विपरीत युद्धमा होमिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कुनै पनि अपेक्षा युद्धले पूरा गरेन। इरानको शीर्ष नेतृत्वको हत्यापछि विद्रोहमार्फत यहाँ सत्ता पल्टाउन सकिनेमा उनी विश्वस्त थिए। त्यस्तै, हवाइ हमला गरेर सैन्य निसाना तहसनहस पारेपछि इरानले हर्मुज जलमार्ग छेक्न नसक्ने आशमा थिए।
तर, उनका यी दुवै आशा निराशामा परिणत भए। न इरानको सत्ता पल्टियो, न इजरायल र छिमेकमा क्षेप्यास्त्र हमला गर्ने उसको तागत नै नष्ट भयो, न त इरानले हर्मुजमा नियन्त्रण नै गुमायो।
त्यसैले ट्रम्पले अब कस्तो कदम चाल्छन्, भन्न सकिने स्थिति छैन। तथापि उनका सामु अब अप्रिय विकल्प मात्र बाँकी छन्।
पहिलो हो– वार्ता अघि बढाउने र आणविक कार्यक्रमलाई लिएर इरानसँग लामो छलफल गर्ने। तर, यस्तो वार्ता ट्रम्प र उनको टोलीको रुचिको विषय होइन।
उनी त युद्धको मैदानमा नभए वार्ताको टेबलमा तीव्र विजय हासिल गर्न चाहन्छन्। उनका विशेष दूत स्टिभ विट्कोफले इरानले तुरुन्त आत्मसमर्पण गर्नुपर्ने बताएका छन्।
तर, कूटनीति त्यसरी सञ्चालन हुँदैन। यसअघि ओबामाको पालामा इरान र अमेरिकाबीच आणविक सहमति भएको थियो। त्यो सहमति हुन दुई वर्ष वार्ता गर्नुपरेको थियो। र, त्यसमा पनि अमेरिकाले निकै सहुलियत दिनुपरेको थियो। सो सहमतिअनुसार इरानले सानो परिमाणमा युरेनियम राख्न पाउने, २०३० सम्ममा क्रमिक रुपमा उसको आणविक कार्यक्रममा प्रतिबन्ध हट्ने र त्यसपछि उसले चाहेको आणविक गतिविधि गर्न पाउने सहमति थियो।
त्यो सहमतिलाई ट्रम्पले नै आफ्नो पहिलो कार्यकालमा च्यातेका थिए।
युद्धअघिको वार्तामा इरानी अधिकारीहरूले आणविक कारबाही केही वर्ष रोक्ने प्रस्ताव अघि सारेका थिए। प्रशोधित युरेनियम पूरै जिम्मा लगाउने अमेरिकी माग उनीहरूले स्वीकारेका थिएनन्।
३८ दिनको युद्धले इरानको त्यो अडान अझ बलियो भएको देखिन्छ।
ट्रम्पको सामु रहेको अर्को विकल्प हो- युद्ध। यसै पनि यो नाजुक युद्धविराम अप्रिल २१ मा अन्त्य हुँदैछ। तर, ट्रम्पका लागि युद्ध राजनीतिक हिसाबले फाइदाजनक छैन। र, यो कुरा इरानलाई पनि थाहा छ।
पहिलो कुरा त, ट्रम्प गत साता युद्धविरामका लागि तयार हुनुको कारण नै यो युद्धले विश्वको २० प्रतिशत तेलको आपूर्तिमा सिर्जना गरेको अवरोध हो। जसले गर्दा तेलको मूल्य आकासिएको थियो भने रासायनिक मलसहित कयौँ अत्यावश्यक सामग्रीको अभाव भएको थियो।
युद्धविरामपछि बढेको बजार युद्ध सुरु भयो भने फेरि ओरालो लाग्नेछ। ट्रम्प बजारको दबाबमा कति छन् भन्ने बुझ्न युद्धका घटनाहरूलाई ध्यान दिएर हेर्नुपर्ने हुन्छ। ट्रम्पले बजार घट्न नदिन सप्ताहन्तमा भीषण हमला गर्ने र बजार खुल्न थालेपछि वार्ताको कुरा गर्ने जुक्ति लगाउँदै आएका थिए।
र, युद्धले पनि यस परिघटनाको सबैभन्दा केन्द्रीय समस्या समाधान गर्ने छाँट छैन। त्यो हो– हर्मुज जलमार्गको अवरोध। वार्ता भइरहँदा अमेरिका र इजरायलले अचानक आक्रमण गरेर इरानी नेतृत्वको शीर्ष तहको सफाया नगरुञ्जेल हर्मुज विवादको विषय थिएन। यहाँबाट निर्बाध तेल आपूर्ति भइरहेकै थियो।
तर, अब इरानले हर्मुज आफ्नो सबैभन्दा बलियो हतियार भएको महसुस गरिसकेको छ। ऊ यसलाई सहजै छाड्ने पक्षमा देखिँदैन। त्यही भएर इरानी विदेश मन्त्रालयले इस्लामावाद वार्तापछिको वक्तव्यमा हर्मुजलाई मुख्य प्राथमिकतामा राखेको छ।
र, यो विषयलाई इरानले अन्य विषयहरूसँग मिसाएको छ। उदाहरणका लागि इरानमा अमेरिकी र इजरायली बमबारीबाट पुगेको क्षतिको पूर्ति गर्नुपर्ने, दुई दशकदेखि लगाइएको नाकाबन्दी फुकुवा गर्नुपर्ने माग पनि उसले अघि सारेको छ।
अमेरिकाले क्षतिपूर्ति दिन अस्वीकार गरेको छ भने नाकाबन्दी फुकुवा पनि धिमा गतिमा मात्र हुने बताएको छ।
इस्लामावादको निष्कर्षविहीन वार्ताले एउटै कुरा मात्र स्पष्ट पारेको छ– सम्झौताका लागि दुवै पक्ष तयार भइसकेका छैनन्। एजेन्सी
Shares

प्रतिक्रिया