ग्लोबल


आफ्ना सबै सल्लाहकारको इच्छाविपरीत युद्धमा होमिएका थिए ट्रम्प

आफ्ना सबै सल्लाहकारको इच्छाविपरीत युद्धमा होमिएका थिए ट्रम्प

नेपालखबर
चैत २५, २०८२ बुधबार १७:३४,

फेब्रुअरी ११ का दिन बिहान ११ बजे इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहु चढेको कालो गाडी ह्वाइट हाउस आइपुग्यो। रिपोर्टरहरूले नदेख्नेगरी उनलाई भित्र छिराइयो। पहिले अमेरिकी र इजरायली अधिकारीहरू क्याबिनेट रुममा पसे। त्यसपछि ह्वाइटहाउसको सिचुएसन रुममा उनीहरू मुख्य कामका लागि गए। जहाँ विदेशी नेता विरलै पुग्ने गर्छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो मुख्य आसनमा नभई स्क्रिनका अघिल्तिर बसे। उनको विपरीत नेतन्याहु बसे। नेतन्याहुको पछाडि इजरायली जासुसी संस्था मोसादका निर्देशक डेविड बार्नियासहित सैन्य अधिकारीहरू बसे। 

त्यहाँ ट्रम्पकी चिफ अफ स्टाफ सुजी वाइल्स, विदेशमन्त्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकार मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ, ज्वइन्ट चिफ्स अफ स्टाफका प्रमुख जर्नेल ड्यान केन, सीआईए निर्देशक जोन र्‍याटक्लिफ, ट्रम्पका ज्वाइँ जारेड कुस्नर र इरानसँग वार्ता गरिरहेका ट्रम्पका दूत स्टिभ विट्कोफ थिए।

गोपनीयता कतै खुलासा नहोस् भनेर सानो टोलीलाई मात्र सहभागी गराइदिएको थियो। उपराष्ट्रपति जेडी भान्स अजरबैजानमा भएकाले सहभागी थिएनन्। 

त्यसपछि नेतन्याहुले एक घण्टा प्रस्तुति दिए। उनको त्यही प्रस्तुतिले डोनाल्ड ट्रम्पलाई इरानविरुद्धको युद्धमा होमिन तयार पारेको थियो। त्यो पनि आफ्ना सबै सल्लाहकारहरूको सुझावविपरीत।

द न्युयोर्क टाइम्सको रिपोर्टअनुसार उपराष्ट्रपति भान्ससहित अरु सबै अधिकारीहरूले नेतन्याहुको कुरा ठिक नभएको बताएका थिए। तथापि, ती सबैलाई बेवास्ता गर्दै ट्रम्प युद्धमा हामफाले। र, ४० दिनको बमबारीपछि ठोस लक्ष्य हासिल नगरीकनै अस्थायी युद्धविराममा जान बाध्य भए।

रिपोर्टअनुसार नेतन्याहुले अमेरिका र इजरायलले मिलेर आक्रमण गर्ने हो भने इरानको इस्लामिक शासन ढल्ने दाबी गरेका थिए। इरानको ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम केही हप्तामै नष्ट गर्न सकिने उनको भनाइ थियो। त्यस्तै, इरान हर्मुज जलमार्ग छेक्न नसक्नेगरी कमजोर हुने र उसले र वरिपरिका मुलुकमा पनि न्यूनतम मात्रै क्षति गर्न सक्ने नेतन्याहुको निष्कर्ष थियो।

त्यसबाहेक मोसादको जासुसी सूचनाअनुसार इरानभित्र तुरुन्तै सडक प्रदर्शन सुरु हुने, मोसादले दंगा फसाद गराउन सहयोग गर्ने र निरन्तर बमबारीका कारण विपक्षीहरूले सत्ता पल्टाउने वातावरण तयार हुने दाबी पनि गरिएको थियो। त्यस्तै, इराकतिरबाट कुर्दिस लडाकुहरू इरान पसेर हमला थाल्ने हुनाले सत्ता तुरुन्तै ढल्ने इजरायली हिसाबकिताब थियो।

नेतन्याहुको प्रस्तुति सुनिसकेपछि ट्रम्पले त्यसमा सहमति जनाएका थिए। 

यो आक्रमणका जोखिम केके छन् त भनेर सहभागी अन्य अमेरिकी अधिकारीहरूले सोध्दा नेतन्याहुको भनाइ थियो– यो कारबाहीमा भन्दा केही नगर्दा जोखिम ज्यादा छ। र, त्यो जोखिम दिनानुदिन बढ्दै जानेछ।

भोलिपल्ट फेब्रुअरी १२ का दिन यही विषयमा अमेरिकी गुप्तचर निकायहरूले निकालेको निष्कर्ष ह्वाइट हाउसमा सुनाइदिएको थियो। जहाँ ट्रम्प आइपुग्नुभन्दा अगाडि नै उनका निकटवर्तीहरूलाई ब्रिफिङ गरिएको थियो। उनीहरूले नेतान्याहुको प्रस्तुतिलाई चार भागमा विभाजन गरेका थिए।

पहिलो थियो– शीर्ष नेताको हत्या। अर्थात् आयातोल्लाह अली खामेनीको हत्या। दोस्रो, छिमेकमा आक्रमण गर्न सक्ने इरानको क्षमता नष्ट गर्ने। तेस्रो, इरानभित्र विद्रोह उठाउने। र चौथो, सत्ता परिवर्तन गर्ने।

अमेरिकी अधिकारीहरूको नजरमा पहिलो र दोस्रो उदेश्य पूरा गर्न सकिने खालको थिए भने तेस्रो र चौथो यथार्थको नजिक थिएनन्।

ट्रम्प सिचुएसन रुममा आएपछि सीआईएका निर्देशक र्‍याटक्लिफले यसबारे ब्रिफिङ गरे र नेतन्याहुको प्रस्ताव हाँसउठ्दो भएको बताए। अझ रुबियोले अघि सरेर बने, ‘अर्को शब्दमा भन्दा शुद्ध बकवास!’

र्‍याटक्लिफले सत्ता परिवर्तन हुनसक्ने भए पनि त्यसलाई प्राप्त गर्न सकिने लक्ष्य मान्न नहुने बताए।

अरु सबैको धारणा त्यस्तै थियो। अजरबैजानबाट फर्केका भान्सले पनि त्यसै भने। 

ट्रम्प चाहिँ जर्नेल केनतिर फर्किए, ‘जर्नेल, तपाईंलाई के लाग्छ।’

‘सर, मेरो अनुभवमा इजरायलीहरू प्रायः बढाइचढाइ गर्छन्। उनीहरूको योजना विस्तृत हुँदैन। उनीहरूलाई हाम्रो आवश्यकता छ, त्यसैले जबर्जस्ती गरिरहेका छन्,’ केनको जवाफ थियो।

तर, ट्रम्प तेस्रो र चौथो भन्दा पनि पहिलो र दोस्रो लक्ष्यमा ज्यादा इच्छुक देखिए– खामेनीसहित इरानी नेताहरूको हत्या र इरानी सेनाको विध्वंस। 

त्यसपछिका केही दिनमा योजनामाथि छलफल भयो। जर्नेल केनले ट्रम्प र अरुलाई सैन्य मूल्यांकन सुनाए। ठूलो युद्ध हुँदा अमेरिकी हतियार भण्डार रित्तिने र तिनलाई तत्काल पूर्ति गर्न नसकिने बताए। हर्मुजको नाकाबन्दी खोल्न पनि कठिन हुने उनको भनाइ थियो। तर, रिपोर्टअनुसार उनले यी कुराहरूमा दर्बिलो अडान लिन भने सकेनन्। त्यसैले ट्रम्पले आफूले सुन्न चाहेको कुरा मात्र सुने।

क्याबिनेटमा रक्षामन्त्री हेगसेथ आक्रमणको सबैभन्दा ठूलो पक्षधर थिए। रुबियो तटस्थ रहे। उनी दबाब दिइरहने तर युद्धमा नजाने पक्षमा थिए। तर उनले ट्रम्पलाई रोक्ने कोसिस गरेनन्।

वाइल्स पनि आफ्नो विज्ञताको विषय होइन भन्दै चुपचाप बसिन्।

युद्धको सबैभन्दा बढी विरोधमा भान्स थिए। उनी चिन्तित थिए। सत्ता पल्टाउने युद्ध विनासकारी हुने उनको ठहर थियो। त्यसैले, आक्रमण गर्नै हुँदैन भन्ने पक्षमा थिए। तर, ट्रम्पले नगरी छाड्दैनन् भन्ने भएपछि सीमित कारबाही गर्नुपर्ने पक्षमा थिए। तर, ट्रम्प ठूलो युद्धमा जाने निश्चित भएपछि भने उनले छिटो लक्ष्य पूरा गर्न भएभरको शक्ति लगाउनुपर्ने बताए।

फेब्रुअरीको अन्तिमतिर खामेनी एउटा बैठकमा सहभागी हुने सूचना प्राप्त भएपछि युद्धको बाटो खुलेको थियो। तर, ट्रम्प त्यसको केही साताअघि नै युद्ध गर्ने निर्णयमा पुगिसकेका थिए।

यसबारे सिचुएसन रुममा फेब्रुअरी २६ का दिन अन्तिम बैठक भएको थियो। जहाँ डेढ घण्टाजति छलफल भएको थियो। बैठकमा अर्थमन्त्री स्कट बेसेन्ट, ऊर्जामन्त्री क्रिस राइट र नेसनल इन्टेलिजेन्सकी निर्देशक तुलसी गब्बार्ड समेत अनुपस्थित थिए। 

बैठकमा ट्रम्पले सबैको राय सुने। भान्सले भने, ‘यो खराब उपाय हो भन्ने मलाई लाग्छ। तर, तपाईं अगाडि बढ्न चाहनुहुन्छ भने म तपाईंलाई समर्थन गर्छु।’

रुबियोले सत्तापलट वा विद्रोहको लक्ष्य राखेर आक्रमण गर्न नहुने तर इरानको क्षेप्यास्त्र कार्यक्रम नष्ट गर्ने हो भने त्यो लक्ष्य प्राप्त गर्न सकिने बताए। 

सबैको केही न केही विमति थियो। तर, ट्रम्पले सबैलाई पन्छाए।

‘मलाई लाग्छ, हामीले गर्न जरुरी छ,’ ट्रम्पले भने। 

जर्नेल केनले भोलिपल्ट अपराह्न ४ बजेसम्मको समय मागे।

भोलिपल्ट दिउँसो एयर फोर्स वानमा सवार ट्रम्पले जर्नेल केनले दिएको समयभन्दा २२ मिनेटअघि आदेश पठाए, ‘अप्रेसन एपिक फ्युरी स्वीकृत भयो। रोक्ने होइन। शुभकामना।’

(द न्युयोर्क टाइम्समा प्रकाशित जोनाथन स्वान र म्यागी हेबरम्यानको रिपोर्टमा आधारित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad