इजरायलले इरानका मानिसहरूलाई रेलमा यात्रा नगर्न चेतावनी जारी गरेको छ।
चेतावनीमा आगामी १२ घण्टासम्म रेल प्रयोग नगर्न र रेलवे ट्र्याकबाट टाढा रहन भनिएको छ।
इजरायली सेना (आईडीएफ) ले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रिय नागरिक, तपाईंको सुरक्षाका लागि हामी तपाईंलाई अबदेखि राति ९ बजे (इरानी समय) सम्म देशभर रेलमा यात्रा नगर्न अपिल गर्दछौँ। रेल र रेलवे लाइननजिक रहनु तपाईंको ज्यानका लागि खतरा हुन सक्छ।’
उता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई होर्मुज स्ट्रेट खोल्न मंगलबार राति ८ बजे (अमेरिकी समय) सम्मको समय दिएका छन्।
सोमबार राति ह्वाइट हाउसमा पत्रकार सम्मेलन गरी उनले भनेका छन्, 'यदि अमेरिकाले चाह्यो भने एकै रातमा सिंगो इरानलाई ध्वस्त पार्न सक्छ। आवश्यक परेमा त्यो रात भोलि पनि हुन सक्छ।'
यसैबिच इरानले ट्रम्पले दिएको धम्कीलाई ध्यानमा राख्दै देशभरका युवालाई एकताबद्ध हुन आह्वान गरेको छ।
सीएनएनका अनुसार इरान सरकारले विश्वविद्यालयका विद्यार्थी, कलाकार, खेलाडी र युवा संगठनहरूलाई अप्रिल ७ मा पावर प्लान्टवरिपरि मानव साङ्लो (हुम्यान चेन) बनाउन आग्रह गरेको हो।
इरानका युवा तथा खेलकुद उपमन्त्री अलिरेजा रहिमीले एक्समा लेखेका छन्, ‘म सबै युवा, सांस्कृतिक र कलात्मक व्यक्तित्व, खेलाडी र च्याम्पियनहरूलाई राष्ट्रिय अभियान 'उज्ज्वल भोलिका लागि इरानी युवाहरूको मानव शृंखला'मा आमन्त्रण गर्दछु।’
Shares

प्रतिक्रिया