इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को गुप्तचर संगठनका प्रमुख माजिद खादेमी अमेरिका र इजरायलको संयुक्त आक्रमणमा मारिएका छन्।
बीबीसीका अनुसार आईआरजीसी आफैँले विज्ञप्ति जारी गरी घटनाको पुष्टि गर्दै भनेको छ, ‘माजिद खादेमी सोमबार (अप्रिल ६) बिहान मारिए।’
यसैबिच इजरायलका रक्षामन्त्री इजरायल काट्ज र इजरायल रक्षा बल (आईडीएफ) ले माजिद खादेमीको हत्याको जिम्मेवारी लिएका छन्।
आईडीएफले सामाजिक सञ्जालमा लेखेको छ, ‘उनको मृत्यु आईआरजीसीलाई अर्को ठुलो धक्का हो।’
२०२५ जुन १५ मा इजरायलको आक्रमणमा मोहम्मद काजेमी मारिएको चार दिनपछि खादेमीलाई आईआरजीसी गुप्तचर संगठनको कमान्डर नियुक्त गरिएको थियो।
के हो आईआरजीसी?
इरानी क्रान्तिको सफलतापछि सन् १९७९ मा स्थापना भएको आईआरजीसी इरानको सशस्त्र समूह हो।
देशमा इस्लामिक प्रणालीको रक्षा गर्ने उद्देश्यले गठित यसले मूलतः इरानको नियमित सेनाको विकल्पका रूपमा काम गर्छ।
आईआरजीसीबारे अमेरिकी थिंक ट्यांक काउन्सिल अन फरेन रिलेसन्स लेख्छ, ‘यसले देशको शक्ति, आन्तरिक सुरक्षा र अर्थतन्त्रको प्रक्षेपणमा केन्द्रीय भूमिका खेल्छ। १९७९ को क्रान्तिपछि इरानको धार्मिक नेतृत्वले परम्परागत सशस्त्र सेनाप्रति अविश्वास व्यक्त गर्दै यसको समानान्तर र सन्तुलनका रूपमा आईआरजीसीको स्थापना गरिएको हो। आज यसले सर्वोच्च नेतालाई सिधै रिपोर्ट गर्छ र समयसँगै यसको आकार र अधिकारमा उल्लेखनीय रूपमा वृद्धि भएको छ। यो गठनको उद्देश्य नयाँ शासनलाई कुनै पनि विद्रोहबाट जोगाउनु हो।’
लन्डनस्थित चथम हाउस इन्टरनेसनल अफेयर्स थिंक ट्यांकका सदस्य डा. सनम विकलका अनुसार, ‘यो सुरुमा एउटा सानो सैन्य समूह थियो, तर आज यो धेरै ठूलो संगठनमा परिणत भएको छ।’
इरानको यो विशेष फौजको आफ्नै स्थल, नौसेना र वायुसेना छ। यो संगठनसँग १ लाख ९० हजार सदस्य रहेको अनुमान गरिएको छ।
यसले इरानको बलिस्टिक क्षेप्यास्त्र र परमाणु कार्यक्रम सञ्चालन गर्छ।
आईआरजीसीले रक्षा, इन्जिनियरिङ र निर्माण क्षेत्रका कम्पनीसहित एक ठुलो व्यापारिक साम्राज्य पनि निर्माण गरेको छ। यसले इरानको अर्थतन्त्रको लगभग एकतिहाइ हिस्सा ओगटेको विश्वास गरिन्छ।
इरानको शीर्ष नेतृत्व सखाप
अमेरिका-इजरायले संयुक्त आक्रमणको पहिलो दिन गत फेब्रुअरी २८ मै इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारी मारेको थियो।
त्यसयता इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी, इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी, नौसेना कमान्डर अलिरेजा ताङसिरी, नौसेना गुप्तचर निर्देशनालयका प्रमुख बहनाम रेजाई र अहिले गुप्तचर संगठनका प्रमुख माजिद खादेमी पनि मारिएका छन्।
बदलामा इरानले इजरायलका साथै अमेरिकी आधार/अड्डा रहेका खाडीका देशहरूमा पनि आक्रमण गर्दा द्वन्द्व मध्यपूर्वभरि फैलिएको छ।
जारी युद्धमा अहिलेसम्म विभिन्न देशमा गरी मारिएकाको संख्या भने ५ हजार नाघिसकेको छ।
विभिन्न एजेन्सीको पछिल्लो तथ्यांकमा आधारित भन्दै रोयटर्सले सार्वजनिक गरेको मृतकको विवरण यस्तो छ:
इरान : ३,५१९ जना मारिए
अमेरिकास्थित मानव अधिकार संगठन एचआरएएनएका अनुसार इरानमा मारिएकाहरूमा कम्तीमा २४४ बालबालिकासहित १ हजार ५९८ आम नागरिक छन्।
लेबनन : १,३१८ जना मारिए
लेबननी अधिकारीहरूका अनुसार मारिएकाहरूमा १२४ बालबालिका छन्। इजरायलले मार्च २ मा लेबननमा आक्रमण सुरु गरेको थियो। जसमा अहिलेसम्म ४०० भन्दा बढी हेजबुल्लाह लडाकु मारिएका छन्।
छुट्टाछुट्टै हमलामा कम्तीमा ९ जना लेबननी सैनिक मारिएका छन् र संयुक्त राष्ट्रसंघ शान्ति सेनाका तीन जनाको पनि मृत्यु भएको छ। तीनै जना सैनिक इन्डोनेसियाली थिए।
इराक : कम्तीमा १०७ जना मारिए
इराकी स्वास्थ्य अधिकारीहरूका अनुसार मारिएकाहरूमा सर्वसाधारण, इरान-समर्थित सिया पपुलर मोबिलाइजेसन फोर्सका सदस्य, अमेरिका-समर्थित कुर्दिस पेसमेर्गा लडाकु, प्रहरी र सेनाका कर्मचारी छन्।
इराकी बन्दरगाहनजिकै ट्यांकरमा भएको आक्रमणमा चालक दलका एक विदेशी सदस्यको पनि मृत्यु भएको छ। आतंकवादविरोधी तालिम प्रदान गर्ने एक फ्रान्सेली सैनिक पनि ड्रोन आक्रमणमा मारिएका छन्।
इजरायल : १९ जना मारिए
इजरायलको एम्बुलेन्स सेवाका अनुसार इरान र लेबननबाट प्रहार गरिएका क्षेप्यास्त्रबाट १९ जनाको मृत्यु भएको छ। इजरायली सेनाले दक्षिणी लेबननमा आफ्ना १० जना सैनिकको पनि मृत्यु भएको बताएको छ। साथै मार्च २२ मा इजरायली सैनिकले गल्तीले गोली चलाउँदा सीमानजिकै एक इजरायली किसानको मृत्यु भएको थियो।
अमेरिका : १३ जना मारिए
अमेरिकी सेनाका अनुसार इराकमा सैन्य इन्धन भर्ने विमान दुर्घटना हुँदा ६ जना सैनिकको मृत्यु भएको पुष्टि भएको छ। इरानमा अपरेसनका क्रममा अन्य ७ सैनिकको मृत्यु भएको छ।
खाडी क्षेत्र
संयुक्त अरब इमिरेट्स (यूएई) मा ११, कतारमा ७, कुवेतमा ७, वेस्ट बैंकमा ४, सिरियामा ४, बहराइनमा २, ओमानमा २ र साउदी अरेबियामा २ जना मारिएका छन्।
यसैबिच इरानसँग युद्ध सुरु गरेयता अहिलेसम्म अमेरिकी सेनाका १३ जना मारिएको र ३६५ सैन्य कर्मचारी घाइते भएको अमेरिकाले जनाएको छ।
Shares

प्रतिक्रिया