राजनीति


शेखरको समीक्षा: पहिले वामपन्थीसँग लडाइँ थियो, अब ‘लिबरल डेमोक्रेट्स’सँग

शेखरको समीक्षा: पहिले वामपन्थीसँग लडाइँ थियो, अब ‘लिबरल डेमोक्रेट्स’सँग

नेपालखबर
चैत २१, २०८२ शनिबार १४:५०, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पहिले वामपन्थीसँगको लडाइँ सजिलो रहेको बताउँदै अब ‘लिबर डेमोक्रेट्स’सँग गाह्रो हुन सक्ने टिप्पणी गरेका छन्। 

बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको शनिबार काठमाडौँमा आयोजित १८औँ वार्षिक साधारण सभालाई सम्बोधन डा. कोइरालाले अबको कांग्रेसको यात्राबारे चर्चा गरे। जेनजी आन्दोलन र त्यसपछि भएको प्रतिनिधि सभाको निर्वाचनलगायतका बारेमा बोल्दै उनले अब कांग्रेसको लडाइँ ‘लिबरल डेमोक्रेट्स’सँग रहेको जिकिर गरे। 

विगत र अहिलेका राजनीतिक प्रतिस्पर्धी दलसँगको यात्राको समीक्षा गर्दै डा. कोइरालाले भने, ‘पहिले पहिले हाम्रो लडाइँ वामपन्थीहरूसित हुन्थ्यो, सजिलो थियो। अबको लिबरल डेमोक्रेट्सहरूसित हाम्रो लडाइँ छ।’

अबको लडाइँ गाह्रो भए पनि कांग्रेसले जित्ने उनले विश्वास जनाए। त्यसका लागि कांग्रेससँग बलियो संगठन रहेको उनको भनाइ थियो। ‘त्यो लडाइँमा हामी पछि पर्नुहुँदैन भन्ने मलाई लाग्छ। हाम्रो संगठन छ र हामी गर्न सक्छौँ भन्ने विश्वास मैले लिएको छु,’ कोइरालाले भने। 

प्रतिनिधि सभाको निर्वाचनपछि कांग्रेसकै नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा आफूलाई गाली गरिरहेको उनले उल्लेख गरे। त्यसबारे आफू जानकार रहेको बताउँदै कोइरालाले भने, ‘मलाई जसले जति गाली गरे पनि हुन्छ। मलाई केही पनि असर गर्दैन, त्यो गालीले।’

आफू कांग्रेसलाई बलियो बनाउन हिडेको उनको भनाइ थियो। त्यसका लागि सामाजिक सञ्जालमा आउन गालीगलौजले आफूलाई फरक नपर्ने उनले सुनाए। 

‘किन गर्दैन भने मेरो एउटै लक्ष्य छ, नेपाली कांग्रेसलाई एक ढिक्का बनाईकन आगामी निर्वाचनमा फेरि हामीहरू पहिलो पार्टीको रुपमा प्रस्तुत हुने मेरो त्यति मात्रै इच्छा हो,’ डा.कोइरालाले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad