इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले विज्ञप्ति जारी गरी आफ्नो नौसेना गुप्तचर निर्देशनालयका प्रमुख बहनाम रेजाई मारिएको पुष्टि गरेको छ।
यसअघि मार्च २६ मा इजरायलले आफूले गरेको आक्रमणमा रेजाई मारिएको बताएको थियो।
इजरायली सेना (आईडीएफ) का अनुसार, ‘रेजाई छिमेकी देशहरूमा गुप्तचर जानकारी संकलन गर्ने र विभिन्न गुप्तचर निकायसँग सहकार्य गर्ने जिम्मेवारीमा थिए।’
मार्च २६ मा इजरायलले होर्मुज स्ट्रेट नाकाबन्दीको निरीक्षण गरिरहेका आईआरजीसी नौसेना कमान्डर अलिरेजा ताङसिरी पनि मारिएको बताएको थियो।
त्यसको ४ दिनपछि मात्र आईआरजीसी उनको मृत्युको पुष्टि गरेको थियो।
अमेरिका र इजरायलले आक्रमणको पहिलो दिन (फेब्रुअरी २८ मा) नै इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसहित धेरै जना शीर्ष नेता तथा अधिकारी मारेको थियो।
त्यसयता इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्।
बदलामा इरानले इजरायलका साथै अमेरिकी आधार/अड्डा रहेका खाडीका देशहरूमा पनि आक्रमण गर्दा द्वन्द्व मध्यपूर्वभरि फैलिएको छ।
जसमा परी मारिएकाको संख्या ५ हजार नाघिसकेको रिपोर्ट सार्वजनिक भएको छ।
रोयटर्सका अनुसार यो जानकारी विभिन्न एजेन्सीको पछिल्लो तथ्यांकमा आधारित छ।
सबैभन्दा बढी मानिस इरानमा मारिएका छन्।
हेर्नुहोस् तथ्यांक
इरान : ३,५१९ जना मारिए
अमेरिकास्थित मानव अधिकार संगठन एचआरएएनएका अनुसार इरानमा मारिएकाहरूमा कम्तीमा २४४ बालबालिकासहित १ हजार ५९८ आम नागरिक छन्।
लेबनन : १,३१८ जना मारिए
लेबननी अधिकारीहरूका अनुसार मारिएकाहरूमा १२४ बालबालिका छन्। इजरायलले मार्च २ मा लेबननमा आक्रमण सुरु गरेको थियो। जसमा अहिलेसम्म ४०० भन्दा बढी हेजबुल्लाह लडाकु मारिएका छन्।
छुट्टाछुट्टै हमलामा कम्तीमा ९ जना लेबननी सैनिक मारिएका छन् र संयुक्त राष्ट्रसंघ शान्ति सेनाका तीन जनाको पनि मृत्यु भएको छ। तीनै जना सैनिक इन्डोनेसियाली थिए।
इराक : कम्तीमा १०७ जना मारिए
इराकी स्वास्थ्य अधिकारीहरूका अनुसार मारिएकाहरूमा सर्वसाधारण, इरान-समर्थित सिया पपुलर मोबिलाइजेसन फोर्सका सदस्य, अमेरिका-समर्थित कुर्दिस पेसमेर्गा लडाकु, प्रहरी र सेनाका कर्मचारी छन्।
इराकी बन्दरगाहनजिकै ट्यांकरमा भएको आक्रमणमा चालक दलका एक विदेशी सदस्यको पनि मृत्यु भएको छ। आतंकवादविरोधी तालिम प्रदान गर्ने एक फ्रान्सेली सैनिक पनि ड्रोन आक्रमणमा मारिएका छन्।
इजरायल : १९ जना मारिए
इजरायलको एम्बुलेन्स सेवाका अनुसार इरान र लेबननबाट प्रहार गरिएका क्षेप्यास्त्रबाट १९ जनाको मृत्यु भएको छ। इजरायली सेनाले दक्षिणी लेबननमा आफ्ना १० जना सैनिकको पनि मृत्यु भएको बताएको छ। साथै मार्च २२ मा इजरायली सैनिकले गल्तीले गोली चलाउँदा सीमानजिकै एक इजरायली किसानको मृत्यु भएको थियो।
अमेरिका : १३ जना मारिए
अमेरिकी सेनाका अनुसार इराकमा सैन्य इन्धन भर्ने विमान दुर्घटना हुँदा ६ जना सैनिकको मृत्यु भएको पुष्टि भएको छ। इरानमा अपरेसनका क्रममा अन्य ७ सैनिकको मृत्यु भएको छ।
खाडी क्षेत्र
संयुक्त अरब इमिरेट्स (यूएई) मा ११, कतारमा ७, कुवेतमा ७, वेस्ट बैंकमा ४, सिरियामा ४, बहराइनमा २, ओमानमा २ र साउदी अरेबियामा २ जना मारिएका छन्।
Shares

प्रतिक्रिया