राजनीति


एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत

एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत

नेपालखबर
चैत २०, २०८२ शुक्रबार २०:२७, काठमाडौँ

प्रतिपक्ष दल नेकपा (नेकपा) ले संसदीय दलको नेताको निर्वाचन लोकतान्त्रिक विधि र विधानसम्मत भएको जनाएको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपमहासचिव लेखराज भट्टले बैठकले हालै सम्पन्न संसदीय दलको नेताको निर्वाचन पूर्णतः लोकतान्त्रिक र विधानसम्मत भएको स्पष्ट पार्दै उपाध्यक्ष रामबहादुर थापा निर्विरोध निर्वाचित भएको घोषणा स्पष्ट पारे।

यस निर्वाचनका सम्बन्धमा सार्वजनिक सञ्चारमाध्यममा आएका प्रतिक्रियाहरूप्रति ध्यानाकर्षण भएको जनाउँदै एमालेले पार्टीका तर्फबाट कुनैपनि प्रकारको निर्देशन वा हस्तक्षेप नभएको दाबी गरेको छ।

लोकतान्त्रिक विधिबाट तय भएको यस निर्णयलाई सम्मान गर्न र सार्वजनिक रूपमा अन्यथा टिप्पणी नगर्न पार्टीले सम्पूर्ण कार्यकर्ताहरूलाई आह्वान गर्दै युवापङ्क्तिबाट प्राप्त सकारात्मक सुझावहरूलाई गम्भीरतापूर्वक लिने स्पष्ट पारेको छ।

नवनिर्वाचित दलका नेता थापालाई सफल कार्यकालको शुभकामना दिँदै बैठकले राज्यका सुरक्षा निकाय, निजामती प्रशासन र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिवद्धता समेत व्यक्त गरेको छ।

यस्तै, एमालेले विद्यार्थी सङ्गठनहरू खारेज गर्ने र उनीहरूमाथि प्रतिबन्ध लगाउने सरकारी कदमको विरोध गरेको छ।

एमालेले विद्यार्थी सङ्गठनहरू खारेज गर्ने र उनीहरूमाथि प्रतिबन्ध लगाउने सरकारी कदमको विरोध गर्दै एमालेले सो निर्णयबाट तत्काल पछि हट्न सरकारको ध्यानाकर्षण गराएको छ। 

त्यसैगरी, सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्र दिने निर्णयले स्वतन्त्र प्रेसको भूमिकालाई कमजोर पार्ने र प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने भन्दै त्यसको समेत भत्र्सना गरिएको छ। 

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको संक्षिप्त समीक्षा गर्दै एमालेले जनमतको सम्मान गर्ने निर्णय गरेको छ। बैठकले भारी बहुमतका साथ सरकार गठन गर्न सफल भएका प्रधानमन्त्री शाह र उनको मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गर्दै निर्वाचन सम्पन्न गराउन सहयोग पुर्‍याउने निर्वाचन आयोग, सुरक्षा निकाय र मतदाता लगायत सबै पक्षलाई धन्यवाद दिएको छ। 

बैठकले पार्टीका नेता, कार्यकर्ता र विशेषगरी महिलाहरूविरुद्ध भइरहेको लगातारको साइबर आक्रमणको निन्दा गर्दै दोषीलाई कानूनबमोजिम कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। यस्ता, नियोजित आक्रमणको विरुद्ध कानूनी उपचारमा सक्रिय हुन पार्टीपङ्क्तिलाई आह्वान समेत गरिएको छ।

यस्तै, पश्चिम एशियामा जारी हिंसाका कारण असुरक्षित बनेका लाखौँ नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न र स्वदेश फर्किन चाहनेहरूका लागि सुरक्षित तवरले फर्कने व्यवस्था मिलाउन एमालेले सरकारसँग माग गरेको छ।

हिंसाका कारण एक नेपालीको मृत्यु भइसकेको अवस्थामा त्यहाँ रहेका नेपालीहरूको अवस्थाप्रति पार्टीले चिन्ता व्यक्त गरेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad