ग्लोबल


मध्यपूर्वमा जारी द्वन्द्वका बिच कतार र युक्रेनले गरे रक्षा सम्झौता

मध्यपूर्वमा जारी द्वन्द्वका बिच कतार र युक्रेनले गरे रक्षा सम्झौता

नेपालखबर
चैत १५, २०८२ आइतबार ५:४८, काठमाडौँ

मध्यपूर्वमा जारी द्वन्द्वका बिच कतार र युक्रेनले रक्षा सम्झौता गरेका छन्।

बीबीसीका अनुसार युक्रेनको सशस्त्र बलका प्रमुख लेफ्टिनेन्ट जनरल एन्ड्री हनाटोभ र कतारको सशस्त्र बलका प्रमुख लेफ्टिनेन्ट जनरल जसिम बिन मोहम्मद अल-मन्नाईले रक्षा सम्झौतामा शनिबार हस्ताक्षर गरेका हुन्।

जसअन्तर्गत अब दुई देशले क्षेप्यास्त्र र ड्रोन खतरा सामना गर्न विशेषज्ञता आदानप्रदान गर्नेछन्।

यो सम्झौता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस हप्ता गरेका खाडीका देश भ्रमणका क्रममा भएका बैठक र सम्झौताको शृंखलाको पछिल्लो चरण हो।

कतारको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार दुई पक्षले क्षेत्रको सुरक्षा अवस्था र सहयोगका सम्भावित क्षेत्रका विषयमा छलफल गरे। यसपछि दुई देशबिच रक्षा सम्झौतामा हस्ताक्षर गरेका हुन्। 

यो सम्झौताले प्रविधि र रक्षा लगानीको क्षेत्रमा सहयोग बढाउनेछ।

अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा इरानमा संयुक्त हवाई हमला गरी आफ्ना सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता इरानले अमेरिकी आधार रहेका खाडीका मुलुकमा आक्रमण गरिरहेको छ। जसका कारण एक महिनादेखि मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ। 

यसबिच इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्। 

अमेरिका-इजरायलको आक्रमणबाट इरानमा अहिलेसम्म ३ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad