इरानी सेनाको मुख्यालय (खातम अल-अन्बिया) का प्रवक्ता दोस्रो ब्रिगेडियर जनरल इब्राहिम जोल्फागारीले अमेरिकालाई आफ्नो असफलतालाई सम्झौताका रूपमा प्रस्तुत नगर्न चेतावनी दिएका छन्।
उनले अमेरिकालाई भनेका छन्, ‘तिमी जुन रणनीतिक शक्तिको धक्कु लगाइरहेका छौ, त्यो हारमा परिणत भइसकेको छ।’
उनले अगाडि भनेका छन्, ‘यदि स्वघोषित विश्व महाशक्ति आफ्नो दुर्दशाबाट उम्कन सक्थ्यो भने अहिलेसम्म त्यसो गरिसकेको हुन्थ्यो। आफ्नो असफलतालाई सम्झौता नभन। तिम्रा खोक्रा वाचाको युग सकिएको छ।’
यस क्रममा प्रवक्ता जोल्फागारीले संसारमा सही र गलत दुई पक्ष रहेको उल्लेख गर्दै ‘स्वतन्त्र र न्याय चाहने कोही पनि शत्रुको मिडिया अभियानबाट प्रभावित नहुने’ बताएका छन्।
यस्तै उनले विदेशी शक्तिले इरानी सेनाको शक्ति स्वीकार नगर्दासम्म शान्ति स्थापना नहुने दाबी पनि गरेका छन्।
उनले भनेका छन्, ‘स्थिरता शक्तिबाट मात्र प्राप्त हुन्छ।’
यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सम्झौताका लागि आतुर रहेको दाबी गरेका थिए।
साथै यसबिच युद्ध अन्त्यका लागि अमेरिकाले पाकिस्तानमार्फत इरानलाई १५ बुँदे योजना पठाएको रिपोर्ट पनि सार्वजनिक भएको छ।
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता निरन्तर युद्ध जारी छ।
यसबिच इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्।
अमेरिका-इजरायलको आक्रमणबाट इरानमा अहिलेसम्म ३ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ।
साथै इरानले गरेका आक्रमणका कारण इजरायल तथा अमेरिकी आधार रहेका खाडीका मुलुकहरूमा पनि मानवीय तथा भौतिक क्षति भएका छन्।
Shares

प्रतिक्रिया