कतार सरकारले आफ्नो देशमा रहेका इरानी दूतावासका सैन्य तथा सुरक्षा सहचारीसहित सम्पूर्ण कर्मचारीहरूलाई 'पर्सोना नन ग्राटा' (अवाञ्छित व्यक्ति) घोषणा गर्दै २४ घण्टाभित्र देश छाड्न आदेश दिएको छ।
बुधबार कतारको परराष्ट्र मन्त्रालयका शिष्टाचार महाशाखा निर्देशक इब्राहिम युुसुफ फाख्रो र कतारका लागि इरानी राजदूत अली सालेहाबादी बीच भएको भेटवार्तामा उक्त औपचारिक पत्र बुझाइएको हो।
'पर्सोना नन ग्राटा' भनेको के हो?
कुनै पनि देशले विदेशी कूटनीतिज्ञलाई आफ्नो भूमिमा बस्न अयोग्य वा अनुपयुक्त ठानेमा कूटनीतिक भाषामा 'पर्सोना नन ग्राटा' घोषणा गर्दछ। यसको अर्थ 'अवाञ्छित व्यक्ति' भन्ने हुन्छ। यसरी घोषणा गरिएपछि सम्बन्धित व्यक्तिले तोकिएको समयभित्र देश छाड्नैपर्ने हुन्छ।
कतारको परराष्ट्र मन्त्रालयका अनुसार इरानले कतारको सार्वभौमसत्ता र सुरक्षामाथि बारम्बार प्रहार र नाङ्गो हस्तक्षेप गरेपछि यो कठोर निर्णय लिनु परेको हो।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'इरानी पक्षबाट कतारको सार्वभौमसत्ता र सुरक्षामाथि बारम्बार लक्षित गरिनु अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को प्रस्ताव नम्बर २८१७ र असल छिमेकीपनको सिद्धान्तको घोर उल्लङ्घन हो।'
पछिल्लो समय इरान र कतारबिच बढ्दो तनावले क्षेत्रीय सुरक्षामा नयाँ चुनौती थपिएको विश्लेषण गरिएको छ।

Shares

प्रतिक्रिया