ग्लोबल


दक्षिणी लेबननका बासिन्दालाई इजरायलको उर्दी: ज्यान जोगाउने भए तुरुन्त उत्तर सर्नू

दक्षिणी लेबननका बासिन्दालाई इजरायलको उर्दी: ज्यान जोगाउने भए तुरुन्त उत्तर सर्नू

नेपालखबर
चैत ४, २०८२ बुधबार १५:२, काठमाडौँ

इजरायल रक्षा बल (आईडीएफ) ले फेरि दक्षिणी लेबननस्थित जहरानी नदीको दक्षिणतर्फ बसोबासरत बासिन्दालाई घर छाड्न चेतावनी जारी गरेको छ। जुन क्षेत्र इजरायलको सीमाबाट लगभग ४० किलोमिटर टाढा छ।

गत हप्ता पनि इजरायली सेनाले दक्षिणी लेबननका नागरिकलाई ठाउँ खाली गर्न उर्दी जारी गरेको थियो।

बुधबार एक्समा जारी विज्ञप्तिमा आईडीएफका प्रवक्ताले भनेका छन्, ‘हेजबुल्लाहका आतंकवादी गतिविधिले हामीलाई यस क्षेत्रमा कडा कारबाही गर्न बाध्य पारिरहेको छ।’

आईडीएफले अगाडि भनेको छ, ‘तपाईंको सुरक्षा सुनिश्चित गर्न हामी तपाईंलाई तुरुन्तै जहरानी नदीको उत्तरतिर सर्न आग्रह गर्दछौँ। जहरानी नदीको दक्षिणमा बस्दा तपाईंको जीवन र तपाईंको परिवारका सदस्यहरूको जीवन खतरामा पर्न सक्छ।’

यो आदेश मंगलबार राति र बुधबार बिहान लेबननमा इजरायले आक्रमण गरेपछि जारी गरिएको हो। 

लेबननको स्वास्थ्य मन्त्रालयले बुधबार बताएअनुसार मध्य बेरुतमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको र २४ जना घाइते भएका छन्।

अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेपछि बदला लिन भन्दै लेबननबाट हेजबुल्लाहले इजरायलमा हवाई हमला गरेपछि दुई पक्षबिच लडाइँ परिरहेको छ। 

इरानले पनि इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशहरूमा ड्रोन/क्षेप्यास्त्र प्रहार गर्ने क्रम जारी राखेको छ।

यसैबिच इजरायलले मंगलबार मात्र इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीको पनि हत्या गरेको छ।

यसपछि आक्रोशित इरानका सैन्य प्रमुख अमिर हतामीले यसको ‘निर्णायक’ बदला लिने चेतावनी दिएका छन्।

इरानका अनुसार इजरायल-अमेरिकाको आक्रमणबाट अहिलेसम्म ३ हजारभन्दा बढी मानिस मारिइसकेका छन्।

इरानका तत्कालीन सर्वोच्च नेता खामेनी मारिएपछि इरानले उनकै छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता बनाएको छ। तर इजरायलले अब उनलाई पनि मारिने धम्की दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad