ग्लोबल


रुसले अमेरिकी युद्धपोत र विमानको जासुसी सूचना दिएर इरानलाई सघाएको आरोप

रुसले अमेरिकी युद्धपोत र विमानको जासुसी सूचना दिएर इरानलाई सघाएको आरोप

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार २१:२०,

पश्चिम एसियामा जारी द्वन्द्वमा रुसले इरानलाई अमेरिकी सेनाको ठेगाना सम्बन्धी जासुसी सूचना उपलब्ध गराएर सघाइरहेको खुलासा भएको छ। वासिङ्टन पोस्टले तीन गुप्तचर अधिकारीलाई उधृत गर्दै यो युद्धमा इरानलाई रुसले सघाएको पहिलो पटक पत्ता लागेको जनाएको हो।

यससँगै मध्यपूर्वमा तीव्र गतिमा फैलिरहेको यो युद्धमा अमेरिकाको आणविक शक्तिसम्पन्न शत्रु रुसको पनि सहभागिता देखिएको हो।

उसो त, युक्रेनमा जारी युद्धमा पनि अमेरिकाले किभलाई गुप्तचरी सूचना र बहुसंख्यक हतियार उपलब्ध गराएर सघाइरहेको छ। इरानलाई रुसको सहयोग त्यसैको बदला हुनसक्ने कतिपयको आकलन छ।

गत शनिबार अमेरिका र इजरायलले इरानमा आक्रमण सुरु गरेपछि रुसले इरानलाई अमेरिकी सेनाको युद्धपोत र विमान कहाँ छन् भन्ने सूचना उपलब्ध गराएको ती तीन अधिकारीहरूको भनाइ छ।

‘यो बृहत् कोसिस जस्तो देखिन्छ,’ एक अधिकारीले भनेका छन्।

आक्रमण सुरु भएयता इरानको गुप्तचर क्षमतामा ठूलो क्षति पुगिसकेको छ। युद्धमा हजारभन्दा बढी इरानी मारिइसकेका छन्। युद्धमा सहभागी नभएको र भारतमा सैन्य अभ्यास गरेर फर्किरहेको इरानी जहाजलाई समेत अमेरिकाले आक्रमण गरेको छ, जसमा सयभन्दा बढी नाविक मारिएका छन्।

अमेरिकातर्फ ६ सैनिक मारिनुका सातै तीन वटा लडाकु विमान खसेको छ। इरानले पश्चिम एसिया र खाडी मुलुकहरूमा भीषण ड्रोन हमला गरेको छ।

चीनले भने अहिलेसम्म इरानलाई प्रत्यक्ष सैन्य सहयोग उपलब्ध नगराएको ती अधिकारीहरूले बताएका छन्। 

‘इरानले अमेरिकी रेडारहरूमा एकदमै अचुक निसाना लगाइरहेको छ,’ कार्नेगी एन्डाउमेन्टकी रुसी सेना विज्ञ दारा मासिकट भन्छिन्, ‘उनीहरू एकदमै लक्षित गरेर कमान्ड र कन्ट्रोलमा आक्रमण गरिरहेका छन्।’ एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad