इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी नौसेना विमानवाहक अब्राहम लिंकनमाथि आक्रमण गरिएको दाबी गरेको छ।
बीबीसी फारसीका अनुसार आईआरजीसीको जनसम्पर्क विभागले विज्ञप्तिमा भनेको छ, ‘अमेरिकी नौसेना विमानवाहक अब्राहम लिंकनमाथि चारवटा ब्यालिस्टिक क्षेप्यास्त्रले आक्रमण गरिएको छ।’
आईआरजीसीले अगाडि भनेको छ, ‘शत्रुमाथिको आक्रमण अब नयाँ चरणमा पुगेको छ।’
यद्यपि अन्य स्रोतले अमेरिकी विमानवाहक अब्राहम लिंकनमाथि भएको आक्रमणबारे पुष्टि गरेका छैनन्।
विमानवाहक अब्राहम लिंकन हाल फारसी खाडी र अरब सागरनजिकै तैनाथ छ।
शनिबार इजरायल र अमेरिकाले संयुक्त हवाई हमला गरेपछि इरानले पनि जवाफी आक्रमण गरिरहेको छ।
आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसमेत मारिएका छन्। उनीसँगै उनका छोरी, ज्वाइँ, नातिनी र बुहारी पनि मारिएको इरानी सञ्चारमाध्यमले जनाएका छन्।
सर्वोच्च नेता खामेनी मारिएपछि इरानले ४० दिनको राजकीय शोक र ७ दिनको सार्वजनिक बिदा घोषणा गरेको छ।
जवाफमा इरानले शनिबारै इजरायलमा झन्डै ४०० क्षेप्यास्त्र प्रहार गर्यो भने कतार, कुवेत, जोर्डन, बहराइन, साउदी अरेबिया र यूएईमा रहेका अमेरिकी अड्डालाई निसाना बनायो।
अहिले पनि इरानले आक्रमण जारी राखेको छ।
यसैबिच इरानले संयुक्त अरब इमिरेट्स (यूएई) मा गरेको भीषण हवाई आक्रमणमा एक नेपालीले पनि ज्यान गुमाएका छन्।
आक्रमणमा परी नेपाल, पाकिस्तान र बंगलादेशका एक-एक गरी तीन विदेशी नागरिकको मृत्यु भएको हो। मृत्यु हुनेमध्ये एक नेपाली नागरिक भएको पुष्टि भए पनि उनको विस्तृत विवरण सार्वजनिक भएको छैन।
Shares

प्रतिक्रिया