ग्लोबल


इरानले मिसाइल आक्रमण गर्दा एक नेपालीको मृत्यु, केही घाइते, युएईले लागू गर्‍यो ‘वर्क फ्रम होम’

इरानले मिसाइल आक्रमण गर्दा एक नेपालीको मृत्यु, केही घाइते, युएईले लागू गर्‍यो ‘वर्क फ्रम होम’

यूएईले आफ्नो देशलाई लक्षित गरी इरानले प्रहार गरेका कयौँ क्षेप्यास्त्र आक्रमणमा आकाशमै सफलतापूर्वक विफल पारेको दाबी गरेको छ।


नेपालखबर
फागुन १७, २०८२ आइतबार २०:२६, काठमाडौँ

मध्यपूर्वमा बढ्दो तनावका बीच इरानले संयुक्त अरब इमिरेट्स (यूएई) लाई लक्षित गरी गरेको भीषण हवाई आक्रमणमा एक नेपाली नागरिकले ज्यान गुमाएका छन्।

आक्रमणमा परी नेपाल, पाकिस्तान र बंगलादेशका एक–एक गरी तीन विदेशी नागरिकको मृत्यु भएको हो। मृत्यु हुनेमध्ये एक नेपाली नागरिक भएको पुष्टि भए पनि उनको विस्तृत विवरण सार्वजनिक भएको छैन।

ययुएईको रक्षा मन्त्रालयलाई उदृत गर्दै एएफपीले जनाएअनुसार इरानले हालसम्म १ सय ६५ वटा ब्यालेस्टिक मिसाइल, दुईवटा क्रुज मिसाइल र ५४१ वटा ड्रोन प्रहार भएका छन्। यूएईको अत्याधुनिक हवाई रक्षा प्रणालीले अधिकांश क्षेप्यास्त्र र ड्रोनलाई आकाशमै नष्ट गरे पनि ३५ वटा ड्रोन मुलुकका विभिन्न भूभागमा खसेका थिए। तीमध्ये २१ वटा ड्रोनले सिधै नागरिक बस्ती र भौतिक संरचनामा ठक्कर खाँदा मानवीय क्षति हुन पुगेको हो।

घाइते पनि भए नेपाली

यस आक्रमणमा परी नेपालसहित भारत, फिलिपिन्स, इजिप्ट, इथियोपिया र पाकिस्तान लगायत १५ देशका ५८ जना नागरिक घाइते भएका छन्। मन्त्रालयले घाइतेहरूको अवस्था खतरामुक्त रहेको र स्थानीय अस्पतालहरूमा उपचार भइरहेको जनाएको छ।

एएफपीका अनुसार इरानी अधिकारीहरूले यसलाई "आफ्नो सुरक्षा स्वार्थका लागि गरिएको प्रतिशोधात्मक कदम" भनेका छन्  यता, यूएईले भने यसलाई "नागरिक सुरक्षा र अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन" भन्दै भर्त्सना गरेको छ। अन्तर्राष्ट्रिय समुदायले यस घटनापछि मध्यपूर्वमा ठूलो युद्ध भड्किन सक्ने भन्दै संयमता अपनाउन आग्रह गरेका छन्।

'वर्क फ्रम होम' लागू

यूएईको मानव संशाधन तथा इमिरेटाइजेसन मन्त्रालयले निजी क्षेत्रका प्रतिष्ठानहरूलाई सम्भव भएसम्म ‘रिमोट वर्किङ वा वर्क फ्रम होम’ (घरबाटै काम गर्ने) को व्यवस्था लागू गर्न र भौतिक उपस्थिति अनिवार्य हुने महत्वपूर्ण भूमिका बाहेक अन्य कर्मचारीहरूलाई खुला क्षेत्रमा नखटाउन सिफारिस गरेको छ। गल्फन्यूजका अनुसार यो निर्देशिन आइतबार, १ मार्चदेखि मंगलबार, ३ मार्च २०२६ सम्म तीन दिनका लागि लागू हुनेछ।

मन्त्रालयले काम स्थगित गर्ने वा कार्य व्यवस्थामा परिमार्जन गर्ने निर्णयहरू वर्तमान स्थितिको विकासका आधारमा स्थानीय अधिकारीहरूको अधिकार क्षेत्रभित्र रहने स्पष्ट पारेको छ।

मन्त्रालयले निजी क्षेत्रका प्रतिष्ठानहरूलाई कर्मचारीहरूको सुरक्षा र नियमको पालना सुनिश्चित गर्न संघीय तथा स्थानीय स्रोतहरूबाट आउने आधिकारिक अपडेटहरू पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad