अमेरिकाले उज्वेकिस्तानबाट भिषा र आप्रवासनमा सहयोग पुर्याएको आरोपमा त्यहाँका केही व्यक्ति तथा कम्पनीका पदाधिकारीहरूमाथि भिसा प्रतिबन्ध लगाएको छ।
अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट)ले एक विज्ञप्ति जारी गर्दै अवैध रूपमा अमेरिका छिर्न चाहनेहरूलाई सघाउने दुईवटा कन्सल्ट्यान्सी कम्पनीका कार्यकारी र वरिष्ठ अधिकारीहरूमाथि यस्तो कदम चालेको जनाएको हो।
अमेरिकी अध्यागमन तथा राष्ट्रियता ऐन अन्तर्गत यो कारबाही गरिएको हो। यो प्रावधानले अमेरिकी विदेश नीतिमा गम्भीर प्रतिकूल असर पार्ने गतिविधिमा संलग्न विदेशी नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउँछ।
अनुसन्धानका क्रममा उज्वेकिस्तानका ती कम्पनीहरूले नागरिकहरूलाई अवैध रूपमा अमेरिका पुर्याउन सक्रिय भूमिका खेलेको पाइएको थियो। उनीहरूले उज्वेकिस्तानबाट हवाई मार्ग हुँदै मध्य अमेरिकी देशहरू ट्रान्जिट प्वाइन्टसम्म पुर्याउने र त्यहाँबाट सीमा पार गराई अवैध रूपमा अमेरिका छिराउने योजनाबद्ध 'ट्राभल सर्भिस' सञ्चालन गरेको स्टेट डिपार्टमेन्टले उल्लेख गरेको छ।
'हामी हाम्रो राष्ट्रिय सुरक्षा वा अध्यागमन कानुनलाई कमजोर बनाउने कुनै पनि प्रयास सहन गर्दैनौँ,' विदेश मन्त्रालयले भनेको छ, 'अवैध आप्रवासनबाट नाफा कमाउनेहरूले यसको परिणाम भोग्नुपर्नेछ। हामी मानव तस्करी गर्ने सञ्जालहरूलाई निरुत्साहित गर्न आक्रामक रूपमा प्रस्तुत हुनेछौँ।'
पछिल्लो समय मध्य एसियाली मुलुकहरूबाट मेक्सिको र मध्य अमेरिकाको बाटो हुँदै अमेरिका छिर्ने आप्रवासीहरूको सङ्ख्या बढ्दै गएपछि अमेरिकी सरकारले आफ्नो भिसा नीति र सीमा सुरक्षामा कडाइ गर्न थालेको हो।
Shares

प्रतिक्रिया