भारत औपचारिक रूपमा अमेरिकी नेतृत्वको रणनीतिक गठबन्धन (प्याक्स सिलिका) मा सामेल भएको छ। यो पहललाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र सेमिकन्डक्टर जस्ता महत्त्वपूर्ण प्रविधिहरूको आपूर्ति श्रृंखला सुरक्षित गर्ने दिशामा ठूलो कदम मानिएको छ।
शुक्रबार दिल्लीमा आयोजित 'इन्डिया एआई इम्प्याक्ट समिट'मा केन्द्रीय आईटी मन्त्री अश्विनी वैष्णव र भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरको उपस्थितिमा यस सम्झौतामा हस्ताक्षर भएको हो।
'भविष्य निर्माण गर्दैछौँ'
केन्द्रीय मन्त्री अश्विनी वैष्णवले यस साझेदारीको महत्त्वबारे भने, 'हामी यहाँ एउटा शिखर सम्मेलन मात्र आयोजना गरिरहेका छैनौं, हामी भविष्यको निर्माण गरिरहेका छौं। हामी युवा पुस्ताका लागि जग बसालिरहेका छौं।'
यसले भारतप्रति विश्वको विश्वास झल्काएको उल्लेख गर्दै उनले भने, 'हामीसँग ठूलो संख्यामा प्रतिभाशाली जनशक्ति छ र हामीले हाम्रो परराष्ट्र नीतिलाई यसरी सञ्चालन गरेका छौं जसले विश्वास पैदा गर्छ। त्यसैको एक हिस्साका रूपमा आज प्याक्स सिलिका हस्ताक्षर भएको छ, जुन हाम्रो देशमा सेमिकन्डक्टर इकोसिस्टम, उत्पादन र चिप डिजाइनलाई राम्रोसँग स्थापित गर्न धेरै महत्त्वपूर्ण छ।'
के हो प्याक्स सिलिका?
यो पहल सुरुमा डिसेम्बरमा आठ सदस्य राष्ट्रहरू—जापान, दक्षिण कोरिया, सिंगापुर, नेदरल्याण्ड्स, युनाइटेड किंगडम, इजरायल, संयुक्त अरब इमिरेट्स र अष्ट्रेलियाका साथ सुरु भएको थियो। अमेरिकी विदेश मन्त्रालयका अनुसार यसले सेमिकन्डक्टर, डेटा पूर्वाधार, कम्प्युटिङ पावर र खनिज प्रशोधन जस्ता क्षेत्रमा सहकार्य गर्नेछ।
भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले प्याक्स सिलिकामा भारतको प्रवेशलाई २१ औँ शताब्दीको आर्थिक र प्राविधिक व्यवस्थामा एक निर्णायक क्षण भएको बताए। उनले भने, 'प्याक्स सिलिकामा भारतको प्रवेश केवल प्रतीकात्मक मात्र होइन। यो रणनीतिक र आवश्यक छ।'
Shares

प्रतिक्रिया