पाकिस्तानको कराँचीको सोल्जर बजार क्षेत्रमा ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्।
बीबीसी उर्दुका अनुसार, ११२२ (आपत्कालीन सेवा) का प्रवक्ता हसन हबिबले स्थानीय समय बिहीबार बिहान ३:४५ बजे गुल राणा कोलोनीमा ग्यास चुहावटका कारण विस्फोट भएको बताएका छन्।
विस्फोटका कारण आवासीय भवनको एक भाग नै भत्किएको छ। मृतकमा बालबालिका पनि छन्।
सोल्जर बजार प्रहरीका अनुसार, दुर्घटना एक निजी विद्यालयनजिकै रहेको आवासीय भवनमा भएको हो।
सिन्धका मुख्यमन्त्रीका प्रवक्ता अब्दुल रसिद चन्नाले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीले सोल्जर बजारमा भएको विस्फोटप्रति गहिरो दुःख व्यक्त गरेको उल्लेख गरेका छन्।
उनले सम्बन्धित निकायहरूलाई भग्नावशेषमुनि फसेकाहरूलाई तुरुन्तै उद्धार गर्न निर्देशन पनि दिएका छन्।
Shares

प्रतिक्रिया