शुक्रबार ओमानमा अमेरिका र इरानबिच वार्ता भए पनि कुनै निष्कर्ष निस्केन।
यद्यपि इरानका विदेशमन्त्री अब्बास अराघचीले अर्को चरणको वार्ता चाँडै हुने आशा गरिएको शनिबार बताएका छन्।
सँगसँगै उनले यसबिच अमेरिकाबाट इरानमा आक्रमण भए मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डामा हमला गरिने चेतावनी पनि दिएका छन्।

अराघचीले भनेका छन्, ‘यदि वासिङ्टन (अमेरिका) ले हामीमाथि आक्रमण गर्छ भने हामी अमेरिकी भूभागमा त आक्रमण गर्दैनौँ, तर यस क्षेत्र (मध्य पूर्व) मा रहेका उनीहरूका अड्डाहरूमा हमला गर्नेछौँ।’
ओमानमा भएको वार्तालगत्तै ट्रम्पका विशेष दूत स्टिभ विटकफ र उनका ज्वाइँ जेरेड कुसनर अमेरिकी विमानवाहक अब्राहम लिंकनको अवलोकनमा पुगेपछि इरानका विदेशमन्त्रीबाट त्यस्तो चेतावनी आएको हो।

अमेरिकी विमानवाहक अब्राहम लिंकन अवलोकनपछि विटकफले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्, आज अमेरिकी केन्द्रीय कमानन्डका कमान्डर एडमिरल ब्राड कुपर र मैले यूएसएस अब्राहम लिंकन र उनको स्ट्राइक समूहमा सवार बहादुर नाविक र मरिनहरूलाई भेट्यौँ, जसले हामीलाई सुरक्षित राख्छन् र शक्तिमार्फत राष्ट्रपति ट्रम्पको शान्तिको सन्देशलाई समर्थन गर्छन्।’
यसैबिच सीएनएन रिपोर्टर काइली एटवुडले एक्समा लेखेकी छन्, ‘समाचार स्रोतले हामीलाई अमेरिका र इरानबिच वार्ता पुनः सुरु भए पनि यस क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति र तैनाथी बढाउने क्रम जारी छ।’
त्यसो त अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बिहान भनेका छन्, ‘हामी अर्को हप्ताको सुरुमा फेरि भेट्नेछौँ।’
यद्यपि शुक्रबार ओमानमा भएको वार्ताको केही घण्टापछि नै ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमा थप भन्सार शुल्क लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
भन्सार शुल्कको रकम तोकिएको त छैन, तर यो २५ प्रतिशतसम्म हुने अनुमान गरिएको छ।
Shares

प्रतिक्रिया