टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानकी श्रीमती तथा देशकी प्रथम महिला एमिन एर्दोगानले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पकी श्रीमती मेलानिया ट्रम्पलाई पत्र लेखेकी छन्।
पत्रमा उनले मेलानिया ट्रम्पलाई इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई सम्पर्क गर्न र गाजामा बालबालिकाको दुर्दशाको मुद्दा उठाउन आग्रह गरेकी छन्।
टर्कीका अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार एमिन एर्दोगानले आफ्नो पत्रमा लेखेकी छन्, ‘मेलानिया ट्रम्पले यस महिनाको सुरुमा युक्रेन र रुसका बालबालिकाबारे रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र पठाउँदा म प्रेरित भएँ।’
उनले अगाडि लेखेकी छन्, ‘मलाई विश्वास छ- तपाईंले ६४८ युक्रेनी बालबालिकाका लागि देखाएको संवेदनशीलता गाजाका लागि पनि देखाइनेछ।’
तर अमेरिकाको राष्ट्रपति कार्यालय (ह्वाइट हाउस) ले टर्कीको राष्ट्रपति कार्यालयबाट पठाइएको यो पत्रको जवाफ अहिलेसम्म दिएको छैन।
एमिन एर्दोगानले थप लेखेकी छन्, ‘यी दिनहरूमा जब विश्व सामूहिक चेतनामा छ र प्यालेस्टाइनको मान्यता विश्वव्यापी चाहना बनेको छ, मलाई विश्वास छ कि गाजाका तर्फबाट तपाईंको आह्वानले प्यालेस्टिनी जनताप्रतिको ऐतिहासिक जिम्मेवारी पूरा गर्नेछ।’
शुक्रबार विश्वव्यापी भोकमरी अनुगमन संस्थाले गाजा सहर र वरपरका क्षेत्र आधिकारिक रूपमा अनिकालको चपेटामा परेको र आगामी समयमा यो अवस्था अझ खराब हुन सक्ने बताएको छ।
यो रिपोर्टपछि इजरायलमाथि प्यालेस्टिनी क्षेत्रमा थप सहायता पठाउन दबाब बढेको छ।
यद्यपि इजरायलका प्रधानमन्त्री नेतन्याहुले उक्त रिपोर्टलाई ‘स्पष्ट झुट’ भनी खारेज गर्दै आफूहरूको नीति ‘भोकमरी रोक्ने हो, भोकमरी सिर्जना गर्ने होइन’ भनेका छन्।
हमासले २०२३ अक्टोबर ७ मा एक्कासि इजरायलमा हमला गरेयता दुई पक्षबीच लडाइँ जारी छ।
त्यसबेला हमासले गरेको हमलामा दक्षिणी इजरायलमा १ हजार २०० जना मारिए भने लगभग २५० जनालाई गाजामा लगेर बन्धक बनाइयो।
जवाफमा इजरायलले गरेको सैन्य आक्रमणबाट अहिलेसम्म ६२ हजारभन्दा बढी प्यालेस्टिनी मारिइसकेको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। मारिएकामा मानिसमा प्रायः महिला र बालबालिका रहेको उनीहरूको दाबी छ।
Shares

प्रतिक्रिया