सोमबार युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की डोनाल्ड ट्रम्पलाई भेट्न ह्वाइट हाउस पुग्दैछन्। सम्भवतः उनको स्मृतिमा अघिल्लो ह्वाइट हाउस भ्रमण ताजै छ।
फेब्रुअरीमा प्रत्यक्ष टेलिभजनमा ट्रम्प र जेलेन्स्कीले गरेको झगडा अमेरिका र युरोपबीचको सम्बन्धमा सबैभन्दा नाजुक क्षण थियो। यसपटक फेरि त्यस्तै घटना दोहोरिन सक्ने सम्भावना कायमै छ।
अलास्का समिटपछि ट्रम्प भ्लादिमिर पुटिनसँग झनै मोहित भएका छन्। उनले जेलेन्स्कीसँगको भेटमा पुटिनले इच्छाएजस्तो शान्ति योजना अघि सार्न सक्छन्। जसलाई युक्रेनले अस्वीकार गर्न सक्छ।
पुटिनले अहिले मोर्चा जहाँ छ, त्यहीँ हतियार बिसाउने होइन, युक्रेनले दोनेस्क र लुहान्स्क क्षेत्र पूरै क्षेत्र छाड्नुपर्ने सर्त राखेको रिपोर्टहरू प्रकाशित भएका छन्। युक्रेनी सेनाको क्षमतामा पनि भारी कटौती गर्नुपर्ने माग रुसको छ।
पुटिनले देखाएको बाटोमा हिँड्न थालेका ट्रम्पलाई आफ्नो बाटोमा तान्ने कोसिस जेलेन्स्कीले गर्नेछन्। युक्रेनीहरूले तर्क गर्दै आएका छन्– रुस लडाइँ छाडेर फर्किए शान्ति आइहाल्छ नि! तर, त्यो केवल तर्कका लागि तर्क मात्र हो। रुस त्यसै पछि हट्ने छैन।
तर, युक्रेनको हालको नेतृत्व आफ्नो भूमि रुसलाई बुझाउने सम्झौता गरेर इतिहासमा कलंकित हुन चाहँदैन। त्यसैले जेलेन्स्कीका लागि शान्ति वार्ताभन्दा युद्ध जारी राख्नुमा सहजता छ।
तर, विरोधाभास के छ भने युक्रेन आफ्नै बलबुताले लड्न सक्दैन। अमेरिकी गुप्तचरी र सैन्य सहायता उसलाई अत्यन्त आवश्यक छ। जसका लागि ट्रम्पलाई मनाउन जेलेन्स्कीका लागि सहज छैन।
अघिल्लो पालिको गल्तीबाट जेलेन्स्कीले पक्कै पाठ सिकेका छन्। त्यही भएर यसपटक उनी एक्लै ‘बाघको मुखमा’मा गइरहेका छैनन्। सोमबारको भेटमा उनको साथमा युरोपका नेताहरूको लस्कर पनि हुनेछ। उनको साथमा बेलायती प्रधानमन्त्री किअर स्टार्मर, फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँ, जर्मन चान्सलर फ्रेडरिक मर्ज, इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनी, युरोपेली आयोगकी उर्सुला भन डेर लेयन, फिनल्यान्डका अलेक्जेन्डर स्टब र नेटो प्रमुख मार्क रुट पनि हुने छन्।
उनीहरूले जेलेन्स्कीलाई जोगाउन प्रयास गर्नेछन्।
ट्रम्पलाई उनी स्वयंको गल्ती नदेखाई बाटो फेर्न लगाउनु निकै कठिन हुनेछ। तर, रोचक कुरा ट्रम्पको प्रवृत्ति के छ भने उनी आफूले भेटेको अन्तिम व्यक्तिको विचार बोकेर हिँड्ने गर्छन्। अलास्कामा पुटिनसँग उनी सहमत भए। अब पालो जेलेन्स्की र उनका साथीहरूको हो।
यो कामका लागि नेटोका महासचिव मार्क रुट निकै सक्षम देखिन्छन्। उनी मुस्कुराउँदै ट्रम्प र उनका सहयोगीहरूसँग राय बझाउन सक्छन्।
युरोपेलीहरूको हकमा उनीहरू ऐक्यबद्धता जनाउन मात्र जेलेन्स्कीसँग खडा भएका होइनन्। युरोपको सुरक्षा पनि दाउमा लागेको उनीहरूको बुझाइ छ।
तर, यतिखेरको मुख्य प्रश्न युद्ध कसरी रोक्ने भन्ने हो। ट्रम्पले अस्पष्ट शब्दमा सुरक्षा ग्यारेन्टी दिन सकिने र भूमि साटासाट हुन सक्ने संकेत गरेका छन्। त्यसैले आगामी दिनका छलफलहरू यिनै दुई विषयमा केन्द्रित हुने देखिन्छ।
जेलेन्स्कीले यसै भूमिमाथिको दाबी छाड्ने सम्भावना कम छ। किनकि त्यसले उनी स्वयं र युक्रेनसमेतको भविष्य बिगार्न सक्छ। तर, बलियो सुरक्षाको ग्यारेन्टी अमेरिकाले गरिदिए उनी भूमि छाड्नका लागि तयार हुन सक्छन्।
नेटो सदस्यताको ‘च्याप्टर क्लोज’ भइसकेको नेताहरूको अभिव्यक्ति सुन्दा पत्ता लाग्छ। सुरक्षाको ग्यारेन्टीका लागि युरोपले आफ्नो सेना युक्रेन पठाउने चर्चा पनि केही महिनाअघि सुनिएको थियो।
तर, त्यस्तो ग्यारेन्टीमा युक्रेनमाथि आक्रमण भए युरोपको सेना रुससँग लड्ने सर्त छ कि छैन वा अमेरिकाको भूमिका के हुने भन्ने चाहिँ स्पष्ट छैन। एजेन्सी
Shares

प्रतिक्रिया