युक्रेन युद्ध सुरु भएयता डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीच अलास्कामा शुक्रबार पहिलो बैठक भयो। बन्द कोठामा भएको उनीहरूको बैठकमा के कुरा भयो, सार्वजनिक गरिएको छैन।
यद्यपि, छ–सात घण्टा चल्ने भनिएको बैठक तीन घण्टामै सकियो। वार्तापछि के सहमति भयो भन्ने कुरा दुवै नेताले खुलासा गरेनन्।
करिब १२ मिनेट प्रेसका अगाडि आएका उनीहरूले के कति प्रगति भयो भन्ने बताएनन्। पुटिनले युक्रेनमा शान्तितर्फ मार्गप्रशस्त भएको बताए। ट्रम्पले असहमति कायमै रहेको बताए।
दुवै नेताले अस्पष्ट शब्दावलीहरूको प्रयोग गरे। केमा कुरा मिल्यो र केमा मिलेन, खुलाएनन्।
‘थुप्रै कुरा मिल्यो, केही विषय बाँकी छन्,’ ट्रम्पले भने।
उनीहरूले पत्रकारबाट प्रश्न लिएनन्।
यो वार्ताबाट निकाल्न सकिने ५ निष्कर्ष यसप्रकार छन्ः
समिटअघि र पछि पुटिनले जित सुनिश्चित गरे
वार्ताका लागि अमेरिका पुग्नुअघि नै पुटिनले एउटा जित सुनिश्चित गरिसकेका थिए। पश्चिमबाट वर्षौं एक्लिएका उनी एक दशकपछि अमेरिकी भूमिमा फर्किए। उनलाई अमेरिकी लडाकु विमान र रेडकार्पेटद्वारा स्वागत गरियो। ट्रम्पको कारमा उनी सवार भए।
र, फर्किंदै गर्दा उनले अर्को जित सुनिश्चित गरे। कुनै सम्झौता नगरी उनी फर्किए, जबकि ट्रम्पसँगको सम्बन्ध पनि बिग्रिएन।
पछिल्लो केही महिनामा ट्रम्पले पुटिनप्रति निराशा व्यक्त गर्दै आएका थिए।
‘उनी हामीसँग सधैँ राम्रो टोपलिन्छन् तर त्यो अर्थहीन हुन्छ,’ जुलाईमा ट्रम्पले भनेका थिए।
तर, शुक्रबार उनले पुटिनप्रति निराशाको कुनै संकेत दिएनन्, कुनै सहमति नभएको बताइरहँदा पनि।

ट्रम्पले पुटिनप्रति सम्मान देखाए
अमेरिकी भूमिमा समिट भए पनि संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले पुटिनलाई अगाडि बोल्न दिए। यो मौकालाई पुटिनले युक्रेन युद्धलाई आफ्नै दृष्टिकोणबाट प्रस्तुत गर्न उपयोग गरे। रुसी आक्रमणको खास कारण के थियो भनेर व्याख्या गरे।
मुस्कुराइरहेका ट्रम्पले पुटिनको कुरा काटेनन्। नोबेल शान्ति पुरस्कारमा आँखा गाडेका ट्रम्पले पहिलेजसरी तुरुन्तै युद्धविराम हुनुपर्ने अडान पनि राखेनन्। उनी पुटिनप्रति सम्मानपूर्वक तरिकाले प्रस्तुत भए।
ट्रम्पले चाहेको कुरा पाए
ट्रम्पले समिटबाट धेरै ठूलो उपलब्धि हासिल गरेनन्। तर, आफूले चाहेकामध्ये दुई कुरा उनले पाए।
एक, २०१६ को चुनावमा रुसी हस्तक्षेप भएको अमेरिकी गुप्तचर निकायको निष्कर्षलाई एकपटक फेरि उनले अफवाह भने।
दुई, ट्रम्पकै सामुन्ने पुटिनले ट्रम्प राष्ट्रपति भएको भए युक्रेन युद्ध नहुने ‘पुष्टि’ गरे।
ट्रम्प रुस भ्रमणका लागि खुला देखिए
रुसबाट मात्र ९० किमि टाढा रहेको अलास्कामा समिटको तयारी हुँदै गर्दा कतै ट्रम्पले रुसी भूमिमा पाइला टेक्ने हुन् कि भन्ने अड्कलबाजी पनि चलेको थियो। तर, त्यसो भएन।
तर पत्रकारहरूमाझ पुटिनले अबको भेट मस्कोमा हुनुपर्ने सुझाउँदा ट्रम्प उदार देखिए।
उनको जवाफ थियो, ‘ओहो, रोचक कुरा! यसमा मेरो अलिकति आलोचना होला। तर, यस्तो हुन सक्छ।’
अमेरिकी राष्ट्रपतिले पछिल्लो समय २०१३ मा रुस भ्रमण गरेका थिए। ओबामा जी २० को सम्मेलनमा सेन्ट पिटर्सबर्ग पुगेका थिए। ट्रम्प पनि त्यही वर्ष मिस युनिभर्सका लागि रुस पुगेका थिए, अन्तिम पटक।

किनारामा छाडिए जेलेन्स्की
यो समिटमा सबैभन्दा ठूलो दाउ लागेको छ, युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीको। तर, उनले पनि समिटलाई सारा दुनियाँले जस्तै टेलिभिजनमा हेर्नुपर्यो।
जेलेन्स्कीलाई समिटमा निम्त्याइएन। यद्यपि, ट्रम्पले अब जेलेन्स्की र नेटो नेताहरूलाई फोन गर्ने बताएका छन्।
समिटपछिको एक अन्तर्वार्तामा ट्रम्पले पुटिन र जेलेन्स्कीबीच अब भेट हुने र त्यसमा आफू पनि सहभागी हुनसक्ने बताए।
जेलेन्स्कीका लागि दुवै विकल्प मुस्किल छन्। युद्धविराम हुँदा भूमि गुम्न सक्छ, नहुँदा झनै ठूलो जनधनको क्षति बेहोर्नुपर्ने हुन्छ। एजेन्सी
Shares

प्रतिक्रिया