अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन डीसीमा सार्वजनिक सुरक्षा आपत्काल घोषणा गर्दै राजधानीको प्रहरी विभाग (एमपीडी) लाई केन्द्रीय नियन्त्रणमा लिएका छन्।
यसैबीच वासिङ्टनका सडकमा ठूलो संख्यामा प्रहरी अधिकारी र एफबीआई एजेन्ट तैनाथ गरिएका छन्।
बीबीसीका अनुसार उनीहरूले सहरबाट आपराधिक गिरोह नियन्त्रण गर्न काम गर्नेछन्।
यसअघि ट्रम्पले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, ‘डिस्ट्रिक्ट अफ कोलम्बिया होम रुल ऐन प्रयोग गरेर हामी वासिङ्टन डीसी प्रहरी विभागलाई केन्द्रीय नियन्त्रणमा लिइरहेका छौँ।’
उनले थपे, ‘तपाईं लुटपाट, बलात्कार, गोली प्रहार वा हत्या चाहनुहुन्न।’
ट्रम्पले वासिङ्टन डीसीमा हत्या दर ‘पृथ्वीको सबैभन्दा खराब ठाउँ’मा भन्दा पनि बढी रहेको र कार चोरीको संख्या पनि बढेको बताएका छन्।
ट्रम्पले राजधानी ‘हिंस्रक गिरोह, रक्तपातपूर्ण अपराधी, लागुपदार्थ दुर्व्यसनी र घरबारविहीन मानिस’द्वारा कब्जा गरिएको दाबी गरे।
ट्रम्पले एक पूर्वकर्मचारीविरुद्ध भएको आक्रमणलाई पनि उल्लेख गर्दै उनलाई ‘गुण्डा समूहले क्रूरतापूर्वक कुटपिट गरी रक्ताम्य’ पारेर छाडिएको बताए।
राष्ट्रपति ट्रम्पले सरकारी कर्मचारी, एक डेमोक्र्याटिक सांसद र एक इन्टर्नविरुद्ध आक्रमण भएको उल्लेख गर्दै यसले सरकारी कामकाजमा बाधा पुर्याउनाका साथै अमेरिकालाई नै खतरा भएको बताए।
Shares

प्रतिक्रिया